खोजी–खोजी महिलालाई डा. भट्टराईको म्यासेज!

आँखाको उपचारका लागि म्यासेजमार्फत् ‘मार्केटिङ' गर्दै डाक्टर भट्टराई


काठमाडौं – महाराजगञ्जस्थित शिक्षण अस्पतालका एक चिकित्सकले महिलाहरुलाई उपचारको नाममा बोलाएर ठगी गरेको खुलेको छ। उनले सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा म्यासेज पठाउँदै आँखाको उपचार गर्न भनी बोलाएर ठगी गरेको पाइएको हो।

अस्पतालका सह–प्राध्यापक डा. सञ्जीव भट्टराईले छानी–छानी महिलाहरुलाई म्यासेज पठाउँदै बोलाउने गरेको महिला पत्रकार मुना कुँवरले खुलाएकी छन्। डा. भट्टराईले अस्पतालमा बोलाउँदै टिकट बापतको रकम ठगी गरेको विवरण कुँवरले सार्वजनिक गरेकी हुन्।

डाक्टर भट्टराईले शुरुमा सामाजिक सञ्जाल फेसबुकबाट म्यासेज गरेर आँखाको समस्या भए आफूलाई भेट्न भनेको कुँवरले फेसबुकमा लेखेकी छन्, ‘डा. भट्टराईले सुरुमा म्यासेन्जरमा आँखाको समस्या भए फोन गर्नु अथवा तपाईंको नम्बर दिनु भनेर म्यासेज गरेका थिए।’

आँखाको समस्या भएकै कारण आफ्नो मोबाइल नम्बर भट्टराईलाई पठाएको कुँवरले बताएकी छन्। ‘नम्बर पठाएको केही दिनपछि साँझ ९ बजे फोन गरेर अस्पताल आउन भने,’ कुँवरले भनिन्, ‘डाक्टरले दिएको समयमा उपचार गराउन शिक्षण अस्पताल पुगेपनि अस्पतालभित्रै ठगिनु पर्यो।’

अस्पतालको (प्रोसेस) प्रक्रिया छलेर डा. भट्टराईले सिधै उपचार कक्षमा लगी टिकट वापतको सरकारी राजश्व रकम आफ्नो पकेटमा हालेको कुँवरले आरोप लगाएकी छन्।

फेसबुकमा कुँवरले लेखेकी छन्, ‘उनले मलाई टिकटको प्रक्रिया नगरी सिधै आँखा चेक गरे। चेकअपको लागि विभिन्न कोठामा डुलाए। बाहिर भीड छ भन्दै भित्री कोठामा लगे। आँखा हेरे जस्तो गरेपछि टिकट लिनु भएन, म यहिँबाट मिलाउँछु भने। अनि कति दिनुहुन्छ भनेर सोधे। मैले कति लाग्छ भनेँ। जति भए नि हेरेर दिनु न भने। उनले २ सय रुपैयाँ दिन सक्नुहुन्छ भने। मैले टिकटको चार्ज नै होला भनेर हुन्छ भन्दै पैसा दिएँ। तर, मैले पर्सबाट पैसा झिक्दै थिएँ उनले अरुले नदेख्ने गरी छेके पार्दै हतार हतार पकेटमा राखे।’

पैसा लिएपछि चक्रपथको चण्डेश्वरी चश्मा हाउसमा गएर चश्मा बनाउनुहोस् भन्दै डा. भट्टराईले आफ्नो कार्ड दिएको कुँवरले फेसुबकमा उल्लेख गरेकी छन्। कुँवरले थप लेखेकी छन्, ‘अनि केही काम परे सिधै आउनु है टिकट लिनुपर्दैन भन्दै बिदा गरे।’

डा. भट्टराईले गरेको कर्तुत कुँवरले फेसबुकमार्फत सार्वजनिक गरेपछि सयौं कमेन्टहरु आएको छ। डा. भट्टराईबाट यसैगरी अरु पनि धेरैजना ठगिएका रहेछन्। कुँवरको उक्त पोष्टमा कमेन्ट गर्ने दर्जनौंले आफू पनि त्यस्तै ठगीको शिकार बनेको दाबी गरेका छन्।

जसमा डा. भट्टराईले अन्य महिलालाई पनि कुँवरलाई जस्तै म्यासेज गर्दै अन्य महिला पत्रकारहरूलाई पनि बोलाएको पाइएको छ। भट्टराईले गरेको म्यासेजको स्क्रिनसर्ट कुँवरको पोष्टमा कमेन्टका रूपमा आएको छ। ‘फोन चाहिँ मलाई नि आ’को हो, तर म गएको छैन। धन्न तपाईंले आँखा खोल्दिनु भो!’ कुँवरको पोष्टमा पहिलो कमेन्ट गरेकी छन् सम्झना हुमागाईंले।

यस्तै अन्य महिला पत्रकारहरुले डा. भट्टराईले पठाएको म्यासेजको स्क्रिनसर्टसहित कमेन्ट गरेका छन्। ‘मलाई नि म्यासेज यस्तो आको थियो साथी! मैले वास्तै गरिन,’ भन्दै कालिका खड्काले म्यासेजको स्क्रिनसट राख्दै कमेन्ट गरेकी छन्।

त्यस्तै एरिस्मा लामाले पनि ‘सेम म्यासेज आएको’ भन्दै कमेन्ट गरेकी छन्। त्यसैगरी मनिषा अवस्थी, अन्जना सुवेदी, लक्ष्मी ज्ञवाली र मनुका कुँवरले पनि डा. भट्टराईले पठाएको म्यासेजको स्क्रिनसर्ट राख्दै कमेन्ट गरेका छन्। उनीहरु सबैजना मिडियामा आबद्ध छन्।

महिलाहरुलाई मात्र म्यासेज गरेको भन्दै भट्टराईको नियतमाथि नै प्रश्न उठेको छ। ‘यो गम्भीर विषय रहेछ। कमेन्ट हेर्दा महिलालाई बढी लक्षित गरेको देखियो,’ कुँवरको पोष्टमा राजु श्रेष्ठले कमेन्ट गरेका छन्।

त्यस्तै पत्रकार अञ्जना सुवेदीले भट्टराईको हुलियासहित कमेन्ट गरेकी छन्, ‘१५ वटाभन्दा बढी फेसबुक आइडी छ यो मान्छेको । एउटा आँखा फुलो परेको छ,अर्को नि त्यस्तै त्यस्तै छ। सेतो कलरको चस्मा लगाउँछन्।’

सेतो गाउन भिरेर भट्टराईले गरेका काला कर्तुतहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि टिचिङ अस्पतालबाटै ठगी हुने गरेको खुलासा भएको हो। नक्कली डाक्टरले मात्र होइन, सक्कली डाक्टरले नै ठगी गरेपछि डा. भट्टराईमाथि कारबाहीको माग उठेको छ।

यस विषयमा डा. भट्टराईसँग बुझ्दा कुँवरले लेखेको स्ट्याटसमा कुनै सत्यता नरहेको बताए। ‘आफूलाई फँसाउने नियतका साथ यस्तो षड्यन्त्र गरिएको हो। मैले कुन मान्छेसँग कति ठगें, त्यो प्रमाणको रुपमा पेश गर्नुहोस्। यस्तो हावादारी स्ट्याटसको पछाडि नलाग्नुस्,’ डाक्टर भट्टराईको दाबी छ।

कुँवरको स्ट्याटस देख्नासाथ आफूले उनलाई फोन गर्दा सुरुमा रिसिभ गरेपनि पछि रिसिभ नै गर्न छाडेको डा. भट्टराईको भनाइ छ। उनले भने, ‘सुरुमा त्यो स्ट्याटस देख्नासाथ कुँवरजीलाई फोन गरे, रिसिभ गर्नुभयो। एकछिन काम छ एकछिनमा कल ब्याक गर्छु भन्दै फोन राख्दिनुभयो। त्यसपछि फोन गर्दा उहाँले रिसिभ नै गर्न छोड्नुभयो।’

आजसम्म आफूले त्यस्तो गल्ती नगरेको दाबी गर्दै डा. भट्टराईले महिलालाई मात्र नभएर पुरुषहरुलाई पनि म्यासेज गर्ने गरेको बताए। ‘कोही कसैलाई समस्या परेको हुनसक्छ। म्यासेज गर्दा के नै बिग्रन्छ र? मैले म्यासेजमा जथाभावी त केही लेखेको छैन। डाक्टरले नाताले मात्र म्यासेज गरेको हुँ।’

कुँवरले फेसबुकमा स्ट्याटस राखेर आफ्नो बदनाम गरेको बताउँदै डा. भट्टराईले अब कानुनी बाटो अपनाउने बताए। ‘यस विषयमा साइबर ब्यूरोमा उजुरी दिने तयारीमा छु,’ डा भट्टराईले भने।

प्रतिक्रिया