एमाले पदाधिकारीमा पूर्वमाओवादी ‘रिङ आउट’!


काठमाडौं – चितवनको सौराहमा चलिरहेको महाधिवेशनको बन्दसत्रमा आइतबार राति पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यहरूको नामावली पेश गरे।

शनिबारको बन्दसत्रले पदाधिकारीदेखि केन्द्रीय कमिटी सदस्यसम्म चयन गर्ने अधिकार ओलीलाई दिएको थियो। सोही अनुरुप ओलीले माओवादी छाडेर एमालेमा आएका ३ जनाको नाम पदाधिकारीमा समावेश गरेका छन्।

यसअघि पूर्वमाओवादी नेताहरुले ओलीलाई भेटेरै तीन पदाधिकारीसहित ३५ जना केन्द्रीय सदस्य दिनुपर्ने माग राखेका थिए। त्यसैले अध्यक्ष ओलीको प्रस्तावित सूचीमा रामबहादुर थापा ‘बादल’ उपाध्यक्ष, टोपबहादुर रायमाझी र लेखराज भट्ट सचिवमा समेटिएका छन्।

बादल उपाध्यक्षमा समेटिएपनि ‘रिङ आउट’ हुने सम्भावना प्रबल रहेको छ। ओलीले पेश गरेको सूचीमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, बादल, विष्णु पौडेल र सुवास नेम्वाङको नाम अटेपनि घनश्याम भुसालको नाम भने समेटिएको थिएन।

उपाध्यक्षमा आफू नसमेटिएपछि नवौं महाधिवेशनमा उपमहासचिवमा निर्वाचित भुसालले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराइसकेका छन्। त्यसैले अब उपाध्यक्षको लागि चुनाव हुने भएको छ। ६ जना उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेपछि चुनाव हुन लागेको हो।

चुनाव भएको अवस्थामा एमालेका प्रतिनिधिहरुले बादललाई नरोजी भुसाललाई रोज्न सक्ने सम्भावना देखिएको छ। नेकपा एमालेका एक नेताका अनुसार बादल अवसरवादी नेता हुन्। ‘त्यसैले बादलभन्दा भुसाल ठिक छन्,’ ती नेताले भने, ‘पूर्वमाओवादी बादललाई पार्टी अध्यक्षको मात्र सहयोग रहला, तर हामी बादललाई सहयोग गर्दैनौं।’

दशौं महाधिवेशनमा केन्द्रीय सदस्यमा मनोनित भएका एक नेता भन्छन्, ‘यतिबेला एमाले एकढिक्का हुन आवश्यक छ। अन्य पार्टीबाट आएकालाई भन्दा पहिलादेखि एमालेमा रहेकालाई सहयोग गरौं।’

विद्युतीय प्रणालीमा मतदान गर्ने तयारी गरेको एमालेले उपाध्यक्ष पदका लागि एक मात्र बढी अर्थात् ओलीको ‘लिष्ट’ भन्दा बाहेकका भुसालको परेपछि मतदानको क्रममा एमालेका कार्यकर्ताले बादलको नामसँगै भुसालको नाम देखेमा पक्कै उनलाई नै मत दिने अनुमान गर्न सकिन्छ ।

मतदान नै हुने अवस्थामा एमालेका केन्द्रीय तहका नेताले जस्तो स्थानीय प्रतिनिधिहरुले बादललाई स्वीकार्ने कम सम्भावना रहेको ती नेताले बताए ।

ओलीले उपाध्यक्षमा मनोनित गरेका ६ जनामध्ये बादलमात्र पूर्वमाओवादी समूहका हुन्। त्यसैले एमाले प्रतिनिधिहरुले बादललाई हराएर भुसाललाई जिताउन सक्ने प्रबल सम्भावना रहेको छ।

यस्तै सचिवमा मनोनित भएका टोपबहादुर रायमाझी र लेखराज भट्ट पनि आउट हुनसक्ने सम्भावना बढेको छ। ७ जना सचिवको लागि ९ जनाको उम्मेदवारी परेपछि सचिवको लागि पनि चुनाव हुने भएको छ।

ओलीले मनोनित गरेका सचिवहरुमा रायमाझी, रघुवीर महासेठ, भट्ट, गोकर्ण बिष्ट, योगेश भट्टराई, पद्मा अर्याल र छविलाल विश्वकर्माको नाम समेटिएको छ। तर, नवौं महाधिवेशनमा सचिव जितेका भीम आचार्यको नाम समेटिएको छैन।

त्यसैले आचार्यले पुनः सचिवको लागि उम्मेदवारी दर्ता गराएका छन्। यस्तै अघिल्लो महाधिवेशनमा केन्द्रीय सदस्यमा जितेका टंक कार्कीले पनि सचिवको लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

पूर्वमाओवादी समूहबाट सचिवमा समेटिएका रायमाझी र भट्टको अवस्था पनि बादलको जस्तै देखिएको छ। ‘७ सचिवको लागि ९ जनाको उम्मेदवारी पर्नु नै रायमाझी र भट्टको लागि दुःखको कुरा हो,’ एकजना केन्द्रीय सदस्यले भने।

एमालेमा वर्षौंदेखि त्याग गरेका नेताहरुलाई छाडेर भर्खरै अर्को पार्टीबाट आएका नेतालाई तत्कालै पदाधिकारीको लागि सहयोग गर्न नसकिने ती केन्द्रीय सदस्यको भनाइ छ।

उनी थप्छन्, ‘पार्टी नेतृत्वले आफ्नो जिम्मेवारी पूरा गर्नुभएको होला। तर, एमालेमै वर्षौंदेखि सँगै रहेका नेताहरुलाई छाडेर पूर्वमाओवादी समूहका नेताहरुलाई जिताउन चाहिँ म सक्दिनँ।’

यस विषयमा मतदान गर्ने प्रतिनिधिहरुसँग समेत छुट्टाछुट्टै छलफल भइरहेको ती सदस्यले बताए। ‘यो एमालेको लागि एउटा अवसर पनि हो। सबैले सोच्नुपर्ने बेला आएको छ।’ उनले भने।

एमालेका स्थानीय तहका प्रतिनिधिहरु सबैले माओवादीलाई राम्रोसँग स्वीकार नगरिसकेको अवस्थामा एमालेका इमान्दार कार्यकर्ताले रायमाझी र भट्टलाई भन्दा आचार्य र कार्कीलाई रोज्न सक्ने सम्भावना छ ।

बरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा निर्विरोध निर्वाचित भइसकेको अवस्थामा अध्यक्ष, उपाध्यक्ष र सचिवमा भने मतदान हुने भएको हो । अध्यक्षका लागि एमालेकै नेताद्वय केपी शर्मा ओली र भीम रावल मैदानमा उत्रिएका छन् ।

एमाले महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार सोमबार राती ९ः०० बजेदेखि मंगलबार बिहान ३ः०० सम्मका लागि मतदानको समय तोकिएको छ ।

प्रतिक्रिया