एमाले महाधिवेशनः पदाधिकारी र केन्द्रीय समिति सार्वजनिक, अध्यक्षका लागि आज निर्वाचन!


चितवन — चितवनमा जारी नेकपा एमालेको दशौं महाधिवेशनमा रातभर चलेको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीको टिम सार्वजनिक गरेका छन् ।

राति अबेर सुरु भएको बन्दसत्रमा अध्यक्ष ओलीले ३०१ जना केन्द्रीय सदस्य प्रस्ताव गरेका थिए ।

पदाधिकारी र केन्द्रीय सदस्यमा ओलीले नाम सार्वजनिक गरेपनि अध्यक्षमा भने निर्वाचन नै हुने जनाइएको छ । ओलीले सार्वजनिक गरेको नाममा भीम रावलको नाम नपरेपछि निर्वाचन नै हुने पक्का भएको हो ।

ओलीले नेता रावललाई सहमतिमा आउनका लागि अनुरोध गरे पनि सहमत भएनन् र अध्यक्षमा उम्मेदवार हुने बताए । हलमा होहाल्ला भएपछि ओलीले शान्त रहन आग्रह गरे र रावललाई उठ्न दिनुपर्ने धारणा राखेका थिए । यसबाट अध्यक्षका लागि आज वर्तमान अध्यक्ष ओली र भीम रावलबीच निर्वाचन हुने अनुमान गरिएको छ।

लगतै अध्यक्षमण्डलको तर्फबाट सहमतिका लागि १९ सदस्यीय पदाधिकारी प्रस्ताव गरे । आफूलाई अध्यक्षका रुपमा प्रस्तुत गरेका उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम लिए ।

उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवासचन्द्र नेम्बाङ छन् । सुरुमा उनले वरिष्ठ उपाध्यक्षमा दावी गर्दै आएका नेम्बाङको नाम छुटाएका थिए । अध्यक्ष मण्डलका अरु सदस्यले सम्झाएपछि झण्डै छुटेछ भन्दै नेम्बाङलाई पनि उपाध्यक्षमा राखे ।

यस्तै महासचिवमा शंकर पोखरेललाई अघि सारेका उनले उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको नाम प्रस्ताव गरेका छन् ।

सात सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम लिए । आफूले अघि सारेका नाममा सहमति जनाउन र त्यसलाई उम्मेदवारी दर्ता गर्न आग्रह गरेका छन् । लगतै उनले बन्दसत्रको यो सेसन अन्त्य भएको घोषणा गरेका छन् ।

प्रतिक्रिया