एमाले महाधिवेशनः महासचिवमा त्रीपक्षीय शक्ति संघर्ष!


केपी शर्मा ओली नै फेरि अध्यक्ष हुने लगभग सुनिश्चित भइसकेका कारण नेकपा एमालेको १० औं महाधिवेशनमा नेतृत्व चयनमा खासै ध्यान छैन। यद्यपी, महाधिवेशनको मिति पनि नजिक आइसकेको छ।

तर, विगतमा झै यो महाधिवेशनमा रौनक छैन। यसको एकमात्र कारण अध्यक्ष ओली हुन्। ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गर्ने अरुसँग ल्याकत नहुँदा रौनकता कम हुनुको कारण ओली भन्न खोजिएको हो। अन्य हिसाबले एमाले महाधिवेशन लागेकै छ।

एमालेमा अध्यक्षपछिको शक्तिशाली र कार्यकारी पद ‘महासचिव’ हो। त्यसैले ‘महासचिव’ को होला भन्नेबारे लेखाजोखा हुन थालेको छ। दशौं महाधिवेशनमा महासचिव बन्ने व्यक्ति नै ११ औं महाधिवेशनमा अध्यक्ष पदका लागि स्वाभाविक दाबेदार मानिनेछन्।

यसअघि हालका एमाले महासचिव ईश्वर पोखरेलले अब आफूले महासचिवमा उम्मेदवारी नदिने घोषणा गरिसकेका छन्। उनलाई आफ्नो उत्तराधिकारीका रुपमा ओलीले वरिष्ठ उपाध्यक्ष बनाउन सक्ने अनुमान गरिएको छ।

तर, महाधिवेशन आउन ६ दिन बाँकी रहँदा समेत महासचिवमा कसैले पनि औपचारिक रूपमा दाबेदारी पेस गरेका छैनन्। एमालेको अहिलेको आन्तरिक शक्तिसन्तुलन र नेताहरूको विगतलाई हेर्दा महासचिवमा तीन नेता प्रमुख दाबेदार देखिएका छन्।

अनौपचारिक रूपमा हालका उपमहासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यद्वय सुरेन्द्र पाण्डे र शंकर पोखरेलले निकटस्थमार्फत महासचिवको प्रमुख दाबेदारका रूपमा आफूलाई उभ्याएका छन्।

एकातिर, सर्वसम्मत नेतृत्व चयन गर्ने ओलीको योजना र अर्कातिर कोर टिमभित्रै छलफल नभइसकेकाले महासचिवका दाबेदार नेताहरू पनि सार्वजनिक रूपमै आकांक्षा प्रकट गर्न हच्किएका छन्। तर, सर्वसम्मत निर्वाचित गराउने ओलीको चाहना छ।

शंकर पोखरेल, स्थायी कमिटी सदस्य, एमाले

एमालेको सम्भावित महासचिवमाथि राजनीति वृत्तमा चासो रहँदा महाधिवेशनको लोगोमा स्थायी कमिटी सदस्य शंकर पोखरेलको फोटो राखेर महासचिवको उम्मेदवारका रुपमा प्रचार गरिएको उक्त फोटोले एमाले पंक्तिमा तरंग ल्याएको छ।

पोखरेलकै योजनामा उनी निकटस्थहरुले उक्त प्रचार गरेको एमाले नेताहरुको बुझाइ छ। केही नेताले त उम्मेदवारीबारे पोखरेलसँग जिज्ञासासमेत राखेको बुझिएको छ। तर, पोखरेल भने यसबारे आफूलाई केही जानकारी नभएको भन्दै पन्छिएका छन्।

पोखरेलले सोचविचार गरेरै उक्त फोटो सार्वजनिक गर्न लगाएको एकथरिको दाबी छ। एक नेताका अनुसार कार्यकर्ताको मनोविज्ञान बुझ्ने र ओलीमाथि दबाब बढाउने उपायस्वरुप उनी निकटस्थले यस्तो चलाखी गरेको हुनसक्ने अनुमान गर्न सकिन्छ।

पोखरेल ओलीका खास विश्वासपात्र समेत हुन्। वैचारिक नेताको परिचय समेत बनाएका पोखरेल लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री पनि हुन्। पोखरेलको राजनीतिक भूगोल दाङ हो।

उनले एमाले विभाजन हुन नदिन सक्रिय भूमिका निभाएका थिए। अन्तरपार्टी सम्बन्ध समेत बलियो बनाएका पोखरेलले अध्यक्ष ओलीलाई कठिन घडीमा समेत साथ दिएकाले ओलीले उनलाई नै महासचिवमा अगाडि ल्याउने अनुमान छ।

पोखरेललाई एमालेको भविष्यमा नेतृत्व लिनसक्ने नेताका रुपमा पनि हेरिएको छ। तर, आफ्नो व्यक्तिगत गुट र पकड मजबुत बनाउन नसक्नु उनको कमजोरी हो। व्यवहारिक भन्दा सैद्धान्तिक राजनीतिमा बढी भर पर्दा उनलाई केही चुनौती भने छ।

विष्णु पौडेल, उपमहासचिव, एमाले

यस्तै ओलीको अर्का विश्वासपात्र हुन् विष्णु पौडेल। पोखरेललाई ब्याक हटाएर ओलीले महासचिवमा पौडेललाई ल्याउनसक्ने पनि अनुमान छ । किनकि नेकपाजस्तो विशाल पार्टीको महासचिव चलाइसकेका र सांगठनिक पकड बलियो बनाएका कारण ओलीको रोजाइमा पौडेल पनि रहेका छन्।

राष्ट्रिय राजनीतिमा स्थापित भइसकेका र फरक राजनीतिक कित्ताका मान्छेलाई समेत सहजै समन्वय गर्न सक्ने खुबीका कारण पनि पौडेलले ओलीको मन जितेको धेरै एमाले नेताहरुको बुझाइ छ।

पार्टीको बलियो जनाधार रहेको लुम्बिनीबाट नेतृत्वमा उदाउँदै गएका पौडेल सांगठनिक क्षमतामा अब्बल र पार्टी नेतृत्वदेखि कार्यकर्तासम्मलाई छिटै प्रभावमा पार्न सक्ने नेताका रूपमा परिचित छन्।

सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य, एमाले

त्यस्तै अर्का दाबेदारीको आकांक्षी हुन् सुरेन्द्र पाण्डे। पाण्डेले पनि दशौँ महाधिवेशनमा आफूलाई महासचिवकै बलियो उम्मेदवारका रूपमा उभ्याएका छन्। पाण्डे दोस्रोपटक उम्मेदवार बनेका ईश्वर पोखरेललाई नवौँ महाधिवेशनमा कडा चुनौती दिँदै ६ मतको झिनो अन्तरमा पराजित भएका थिए।

अहिलेको अवस्थामा मुलुक र पार्टी दुवैतिर ओलीको नेतृत्व निर्विकल्प रहेको बताएर महाधिवेशन नजिकिँदै गर्दा पाण्डेले भावी नेतृत्व स्विकार्दै अध्यक्ष ओलीको विश्वास जित्ने कोसिससमेत गरिरहेका छन्। सर्वसम्मत नेतृत्व चयन हुँदा आफूसहित अरू नेताहरूको पनि उचित मूल्यांकन हुने विश्वास पाण्डेको छ।

नवौँ महाधिवेशनमा महासचिवको उम्मेदवार बनिसकेकाले यसपटक त्यसभन्दा तल उम्मेदवार नबन्ने पाण्डेको भनाइ छ। दशबुँदे सहमतिमार्फत पार्टी एकताको पक्षमा उभिएका पाण्डेले माधवकुमार नेपाल नेतृत्वको नेकपा एसको महासचिव पदको ‘अफर’ अस्वीकार गरेका थिए।

तत्कालीन वरिष्ठ नेता नेपालसहितका सांसदहरूको एउटा समूहले संसद् बहिष्कार गर्दा पाण्डेले ओलीलाई विश्वासको मत दिनुपर्ने अडान राखेका थिए। उनी ओलीका विरुद्ध राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाउन पनि गएनन् भने सर्वोच्च अदालतमा समेत हस्ताक्षर गरेनन्।

अन्तिमसम्म पार्टी एकताकै लागि क्रियाशील रहेको, उनकै गृहजिल्ला चितवनमै महाधिवेशन हुन लागिरहेका बेला पाण्डेलाई महासचिव बनाउँदा विभाजित पार्टी कमजोर बन्न सक्ने पनि एमालेकै ठूलो पंक्तिको विश्लेषण छ।

०००
विष्णु पौडेल, सुरेन्द्र पाण्डे र शंकर पोखरेलबाहेक उपमहासचिव घनश्याम भुसाल, सचिव प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङको पनि महासचिवका रूपमा चर्चा छ। तर, पौडेल, पोखरेल र पाण्डेमध्ये एकजना नै महासचिव बन्ने बढी सम्भावना छ।

आफूनिकटहरुसँगको भेलामा चाहिँ भुसालले शंकर पोखरेल महासचिवको उम्मेदवार भए आफू पछि हट्ने संकेत गरेका छन्। पौडेल र पाण्डे उठेको खण्डमा आफूले पनि उम्मेदवारी दिने भुसालको भनाइ छ।

तर, महाधिवेशनको दिन अध्यक्ष ओलीले जसलाई बनाउन चाहन्छन्, महासचिव पनि उही बन्ने निश्चितजस्तै देखिन्छ। त्यसैले पनि कसैले खुलेर आफ्ना चाहना प्रकट नगरेका हुन्।

प्रतिक्रिया