कैलाली युवक हत्या प्रकरण: ८ जना सार्वजनिक, मेजरको टाउको फुटाउने व्यक्ति अझै फरार


मृतक भुपेन्द्र बडुवाल।

काठमाडौं – प्रहरीले कैलालीमा धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या गरेको आरोपमा ८ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ। मंगलबार राति भुपेन्द्र बडुवालको हत्या भएको थियो।

टीकापुर नगरपालिका–१ मा खुकुरी प्रहार गरेर लम्कीचुहा नगरपालिकाका २३ वर्षीय बडुवालको हत्या गरेको आरोपमा पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–३ का २४ वर्षीय महेश रावल, २० वर्षीय आर्यन देवकोटा, २० वर्षीय धिरज शाही, २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय निशान मल्ल, २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह र २१ वर्षीय रोहित आले रहेका छन्।

बडुवालको हत्या भएको स्थानबाट सु.प.प्र.०१००८ प ५५६५ नम्बरको कालो रङको स्कुटर र हत्या गर्न प्रयोग भएको खुकुरी समेत बरामद गरिएको कैलाली प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए।

एसपी अधिकारीका अनुसार हत्यामा संलग्न केही व्यक्तिहरु फरार रहेकाले उनीहरुको खोजी जारी राखिएको छ। हत्यामा संलग्न चिसापनाीस्थित संगम होटलका सञ्चालक हर्कबहादुर रावलका छोरा नविन रावल फरार छन्।

बडुवालमाथि चक्कु प्रहार गर्ने मुख्य व्यक्ति हुन् नविन। महेश पनि हर्कबहादुरका कान्छा छोरा हुन्। गत आइतबार उनीहरुले नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालयका सेनानी (मेजर) अशोकजंग शाहीको गाडी तोडफोड गर्नुको साथै मेजरको टाउको फुटाएका थिए।

मदिराले मातेपछि मेजर शाही आइतबार राति संगम होटलमा पुगेर हर्कबहादुर रावलसँग झगडा गरे। राति ११ बजेतिर मेजर शाहीले प्रदेश ०१–००२६च ३४६१ नम्बरको गाडी लिएर चिसापानी बजार पुगेका थिए।

मदिराले मातेको अवस्थामा पुगेका मेजर शाहीलाई देख्ने बित्तिकै रावलका छोरालगायतले आक्रमण गर्दा मेजर शाहीको टाउकोमा चोटसमेत लागेको थियो। अहिले उनको टाउकोमा १६ वटा टाँका लगाउनु परेको छ।

मंगलबार राति हत्या गरिएका बडुवालको शव बुधबार परिवारले बुझेर अन्त्येष्टि गरेका छन्। हत्याको विरोधमा बुधबार दिनभर पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारिएको थियो।

प्रतिक्रिया