तीनजना प्रहरीलाई ‘हाइ इन्टिग्रेटी इन्चार्ज अफ द मन्थ’ अवार्ड


पुरस्कारसहित सम्मान लिँदै डिएसपी मदन कुँवर।

काठमाडौं – जिल्ला प्रहरी कार्यालय रुपन्देहीले तीन जनालाई ‘हाइ इन्टिग्रेटी इन्चार्ज अफ द मन्थ’ अवार्ड र अभिलेखमा जनिने गरि नगद पुरस्कार समेत प्रदान गरेको छ।

इलाका प्रहरी कार्यालय बुटवल, रुपन्देहीमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) मदन कुँवर असोज महिनामा रुपन्देही जिल्लाकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन्।

डिएसपी कुँवरसहित तीन जना प्रहरी इन्चार्जलाई रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोजकुमार केसीले आज नगद पुरस्कारसहित सम्मान गरेका हुन्।

पुरस्कार प्राप्त गर्ने अन्य प्रहरी अधिकारीमा सिमा प्रहरी चौकी कदमहवा रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक भविलाल डिसुवा मगर र नगर प्रहरी कार्यालय बुटवल, रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक बिमला बिक रहेका छन्।

एसपी केसीका अनुसार प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लामा कार्यरत प्रहरीहरुमध्ये उत्कृष्ट कार्य गर्ने प्रहरीलाई हरेक महिना पुरस्कृत गर्दै आइरहेको छ।

प्रतिक्रिया