‘अर्ली इलेक्शन’बारे सत्ता गठबन्धनका कांग्रेस–माओवादीमा खटपट हुनुको कारण


काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले अर्ली इलेक्शनबारे सत्ता गठबन्धनले निर्णय गर्ने बताएका छन्। तर, गठबन्धनमा रहेका कांग्रेस र माओवादीबीच उक्त विषयमा मतभेद र खटपट सुरु भएको उच्च स्रोतको दाबी छ।

तीनै तहको चुनाव एकै पटक गर्ने सहमतिसँगै प्रतिनिधि सभाको अर्ली इलेक्शन पनि स्थानीय तहसँगै गर्नका लागि कांग्रेसले प्रस्ताव गरेको छ। यसका लागि प्रतिनिधि सभा विघटन अनिवार्य गर्नुपर्छ। तर, तत्कालिन प्रधानमन्त्री तथा हाल प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले संसद विघटन गरेका कारण त्यसविरुद्ध गठबन्धन बनेको भन्दै माओवादीले अर्ली इलेक्शन गर्न नहुने अडान राखेको छ।

उच्च स्रोतका अनुसार कांग्रेसको प्रस्तावलाई सत्ता गठबन्धनका बहुमत दलले समर्थन गरेको खण्डमा अर्ली इलेक्शन हुने सम्भावना रहेको छ। कांग्रेसले मध्यावधि चुनाव र अर्ली इलेक्शन एकै प्रकारको नरहेको पनि जनाएको छ। ओलीले सदन विघटन गरी मध्यावधि चुनाव गर्न खोजेको जस्तो अर्ली इलेक्शनलाई नबुझ्न कांग्रेसको माओवादीलाई सुझाव छ।

तर तत्कालै चुनावमा जाँदा प्रतिनिधि सभा विघटन अनिवार्य हुने भएकाले यस मुद्दाले ओलीको कदमको औचित्य पुष्टि गर्ने भन्दै पूरा कार्यकाल सदनलाई कायम राख्नुपर्ने माओवादीको अडान छ।

तर कांग्रेस भने अहिले सदनले काम गर्न नसकिरहेको र एमालेले सदन चल्न नदिने भएकाले पनि चुनावको विकल्प नभएको प्रतिक्रिया दिँदै आएको छ। एक नेता भन्छन्,‘गठबन्धनमा यस विषयमा छलफल चलेको छ, सहमति भए निर्णय आउन सक्छ।’

प्रतिक्रिया