ईपीएल क्रिकेटः ललितपुरद्वारा विराटनगरलाई २२७ को लक्ष्य, उत्कृष्ट सुरुवात गर्दै विराटनगर


काठमाडौं – एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा ललितपुर प्याट्रीयट्सले विराटनगर वारियर्सलाई जितका लागि २ सय २७ रनको विशाल लक्ष्य दिएको छ ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको ललितपुरले ५ विकेट गुमाएर निर्धारित २० ओभरमा २ सय २६ रनको विशाल योगफल तयार पारेको हो ।

ललितपुरले तयार पारेको यो योगफल ईपीएल इतिहासकै सर्वाधिक योगफल हो । यस अघि २०१८ मा भैरहवा ग्लाडीयटर्सले पोखरा राइनोजविरुद्ध बनाएको २ सय १६ रन सर्वाधिक उच्च रहेको थियो ।

ललितपुरको उच्च योगफलमा ओपनर विराकोड्डीले सर्वाधिक ७३ रन जोडे । उनले ३ छक्का र १० वटा चौका प्रहार गरेका थिए । विराकोड्डीले २८ बलमा अर्धशतक प्रहार गरेका थिए ।

विराकोड्डीले प्रहार गरेको ७३ रन यस संस्करणको सर्वाधिक रनको बराबरी हो । यस अघि काठमाडौं किंग्स-११ का रायन वर्लले ललितपुरविरुद्ध अविजित ७३ रन बनाएका थिए ।

यता २१ बलमै अर्धशतक पूरा गरेका ओमारजाईले अविजित ५८ रन जोड्दा ७ छक्का प्रहार गरे ।

अर्का ओपनर तथा कप्तान कुशल भुर्तेलले १७ बलमा ३२ रन जोडे । विराकोड्डी र भुर्तेलले पहिलो विकेटका लागि ७० रनको साझेदारी गरे ।

यता योगेन्द्र सिंह कार्कीले १८ बलमा २७ रन जोड्दा तीन छक्का र एक चौका प्रहार गरे । नारायण जोशीले चार बलमा १८ रन जोड्दा तीन छक्का प्रहार गरे । जयकिशन कोल्सावालाले १३ रनको योगदान गरे । पवन सर्राफले दुई रन जोडे । विराटनगरका कप्तान करण केसीले दुई विकेट लिए । सिकन्दर राजा, प्रतिश जिसी र दिलशान मुनाविराले समान एक एक विकेट हात पारे।

अहिले विराटनगरले उक्त लक्ष्य पछ्याउने क्रममा १० ओभरमा १ सय ५ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया