‘भ्वाइस अफ नेपाल’का विजेता किरण एयरपोर्टबाटै ‘डिपोर्ट’ !


काठमाडौं – रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’का विजेता गायक किरण गजमेर त्रिभुवन विमानस्थलबाटै ‘डिपोर्ट’ अर्थात् फर्काइएका छन् ।

नेपाल सरकारको नियमअनुसार गृहमन्त्रालयले अमेरिकी नागरिकलाई नेपालमा  पर्यटन भिषामा ६ महिना अर्थात् १८० दिनमात्र बस्न मिल्ने प्रावधानअनुसार गत सोमबार विमानस्थलबाटै गजमेरलाई अमेरिका फिर्ता पठाएको हो ।

गजमेरले द भ्वाइस अफ नेपालको प्रतियोगिताका क्रममा नेपाल बस्न पाउने समयावधि गुजारिसकेकाले यस वर्ष अर्थात् २०२१ भित्र नेपाल प्रवेशमा रोक लगाइएको विमानस्थलस्थित अध्यागमन कार्यालयले  जनाएको छ । अब गजमेर सन् २०२२ मा मात्र नेपाल प्रवेश गर्न पाउनेछन् ।

उनी गत सोमबार नेपाल आएका थिए । तर, सोहीदिन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले त्यहीबाट अमेरिका फिर्ता पठाइदिएको थियो।

‘द भ्वाइस अफ नेपाल’ को तेस्रो संस्करणमा गजमेरले उपाधि हात पारेका थिए । भुटानी शरणार्थीको रुपमा झापाको शरणार्थी शिविरमा बस्दै आएका गजमेर संयुक्त राष्ट्रसंघले भुटानी शरणार्थीका लागि तेस्रो मुलुक पुर्नवास कार्यक्रममा अमेरिका गएका थिए ।

गजमेर सन् २०११ मा परिवारसहित अमेरिका गएका हुन् । त्यसपछि उनले अमेरिकाको राहदानी प्रयोग गर्दै आएका छन् ।

प्रतिक्रिया