

पर्सामा प्रहरी र तस्करबीच झडप, ३ राउण्ड हवाई फायर

File Photo
काठमाडौं – पर्सामा प्रहरी र तस्करबीच झडप भएको छ। जिल्लाको पटेर्वासुगौली गाउँपालिका– ४ स्थित फरहदवामा काठ तस्कर र प्रहरीबीच झडप भएको हो।
प्रहरीका अनुसार सोमबार बिहान करिब ४ बजे सामुदायिक जंगलबाट काठ तस्करी गरी ल्याउँदै गरेका व्यक्तिहरूलाई रोकेर नियन्त्रणमा लिन खोज्दा झडप भएको हो।
जंगलबाट काठ तस्करी हुन लागेको सूचनापछि जिल्ला प्रहरी कार्यालयबाट दुई जना सादा पोशाकका प्रहरी परिचालन भएका थिए। २ जना मात्र प्रहरी देखेपछि ८ जना तस्करको समूहले ढुंगामुढा र लाठीसहित प्रहरीमाथि प्रहार गरेका थिए।
४ वटा मोटरसाइकलमा सवार भएका तस्करको समूहले ढुंगामुढा र लाठीसहित प्रहरीमाथि प्रहार गरेपछि प्रहरीले आत्मरक्षाका लागि ३ राउण्ड हवाई फायर गरेको पर्साका डिएसपी ओम प्रकाश खनालले बताए।
प्रहरीले हवाइ फायर गरेपछि तस्करहरु फरार भएका छन्। यद्यपी तस्कर चढेको दुइटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ। बिआर २२ एफ ४१०८ भारतीय नम्बर प्लेट र ना ४० प ९३९६ नम्बरको मोटरसाकल प्रहरीले नियन्त्रणमा लिएको हो।

