

दसैँ तिहारका लागि नयाँ नोट सटही असोज ४ गतेदेखि, एक जनाले कति पाउँछ सुकिला नोट ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले दसैँ तिहारका लागि लक्षित गर्दै बजारमा तीन अर्ब ६० करोड रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाएको छ ।
कमर्सियल बैङ्कहरुको मागका आधारमा करिब महिना दिनअघि नै बजारमा दसैँतिहार लक्षित नयाँ नोट पठाइएको बैङ्कको मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए ।
नेपालका अनुसार सर्वसाधारणले भने आगामी असोज चार गतेदेखि मात्र नयाँ नोट सटही गर्न पाउने छन् । नोट काठमाडौँमा नेपाल राष्ट्र बैङ्कको केन्द्रीय कार्यालयसहित सात वटै प्रदेशको प्रादेशिक कार्यालय र कमर्सियल बैङ्कका सबै शाखाहरूबाट उपलब्ध गराइनेछ ।
यद्यपि,केही बैङ्कहरूले ढिला गरी नोट सटही गर्न पनि सक्ने नेपालको भनाइ छ ।
एक व्यक्तिले बढीमा १८ हजार ५०० रुपैयाँसम्म सटही गर्न सक्ने
बैङ्कका अनुसार दसैँ तिहार लक्षित सुकिला नोटका लागि एक व्यक्तिले १८ हजार ५०० रुपैयाँ सम्म सटही गर्न सक्ने सुविधा प्राप्त गर्नेछन् । ५,१०,२०,५० र १०० दरका एक एक गड्डीका दरले १८ हजार ५०० सम्म साट्न पाउने सुविधा बैङ्कले प्रदान गर्ने मुद्रा व्यवस्थापक प्रमुख नेपालले जानकारी दिए ।

