सेना ‘एसएमजी’ चोरी प्रकरणः अदालतमा सुनुवाई, के आउला फैसला?


काठमाडौं – जंगी अड्डास्थित विशेष सैनिक अदालतमा २८ महिनादेखि जेलमा रहेका नेपाली सेनाको कालीबहादुर गणका अमल्दार लवकुमार गुरुङ र जवान सरोज तामाङको मुद्दामा बिहीबार सुनुवाई हुँदैछ।

उनीहरुलाई ६ वैशाख २०७६ सालमा हतियार ‘एसएमजी’ चोरीको आरोपमा समरी जनरल सैनिक अदालतका तत्कालिन अध्यक्ष सहायक रथी सहदेव खड्काले लबकुमारलाई १० वर्ष र सरोजलाई ७ वर्ष जेलसजाय तोकेका थिए।

अढाई वर्षदेखि हतियार चोरेको आरोपमा जेलमा रहेका लबकुमार र सरोज चितवन कारागारमा छन्। विशेष सैनिक अदालतले उनीहरुको पक्षमा फैसला गर्ने सैनिक स्रोतले बतायो। उनीहरु निर्दोष रहेको पुष्टि भइसकेको एक हत्याकाण्डले खुलाइसकेको छ।

जनरल सैनिक अदालतले गरेको निर्णयविरुद्ध उनीहरुले जंगी अड्डास्थित विशेष सैनिक अदालतमा पुनरावेदन गरेका थिए।उनीहरुले चोरेको भनिएको हतियार अर्कै व्यक्तिको साथबाट बरामद भएपछि सैनिक अदालतमाथि नै प्रश्न उठेको छ।

महेन्द्र दल गणमा कार्यरत अर्का सैनिक जवान गंगाधर ढकालको साथबाट हराएको भनिएको एसएमजी बरामद भएको छ। ढकालले ७ साउनमा चितवनमा आफ्नै साथी सेनाका हुद्दा भरत गुरुङको हत्या गरेपछि यो कुरा सहतमा आएको हो।

गुरुङको हत्यामा सो हतियार प्रयोग गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएपछि केही समयअघि मात्र ढकाललाई चितवन जिल्ला अदालतले सैनिक अदालतको जिम्मा लगाएको हो।

ढकाललाई जंगी अड्डास्थित आन्तरिक थुनामा राखेर अनुसन्धान भइरहेको छ। ४ पुस २०७५ मा ‘स्टर्लिङ ९ एमएम एनकेआर १००७९२’ नम्बरको एसएमजी चोरी भएको थियो। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार गुरुङको हत्यामा सोही एसएमजी प्रयोग भएको र दुई वर्षअघि चोरी भएको हतियारको नम्बरसँग सो नम्बर म्याच भएको छ।

हतियार एसएमजी चोरी प्रकरणमा ट्विस्ट आएपछि जंगी अड्डाले कोर्ट अफ इन्क्वायरी बोर्ड ‘छानविन समिति’ चितवन पठाएर छानविन गरेको थियो। महा–सेनानी नेतृत्वको समितिले ११ भदौमा प्रधानसेनापति प्रभधुराम शर्मालाई छानविन प्रतिवेदन बुझाएको थियो।

इन्क्वायरी बोर्डले हतियार सैनिक जवान ढकालले नै चोरेको पुष्टि भएको प्रतिवेदन जंगी अड्डामा बुझाएको छानबिन समिति स्रोतले बतायो। कोर्ट अर्फ इन्क्वायरी प्रतिवेदन बुझाएपछि सो मुद्दामा जंगी अड्डाले कोर्टमार्सल गरेको थियो।

चितवनको कालिका नगरपालिका–२१ पदमपुरका सैनिक जवान ढकालले हतियार आफैंले चोरेको स्वीकारेका छन्। उनले कोत घरको झ्यालको जाली उधारेर अङ्कुसेले तानेर हतियार चोरेको छानबिनबाट थाहा भएको छ।

प्रतिक्रिया