समाचार प्रभावः नेपालगञ्जका मिनि क्यासिनोहरू बन्द, जुवाडेहरूको एयरपोर्टमा भिड


काठमाडौं – कोरोना महामारीमा ठूला–ठूला क्यासिनोहरु बन्द भएपछि बाँकेको नेपालगञ्जमा अवैध रुपमा सञ्चालन भइरहेका मिनी क्यासिनोहरु पूर्ण रुपमा बन्द गरिएको छ ।

अनलाइनन्यूज७ ले बिहीबार क्यासिनो सञ्चालनको विषयलाई लिएर क्यासिनो एजेन्टसँग बाँके एसपी श्यामकृष्ण अधिकारीको उठबस, ‘कोसेली लिएपछि फोटोसेसन शीर्षकमा समाचार प्रकाशित गरेपछि क्यासिनोहरु बन्द गरिएको हो ।

अवैध रुपमा सञ्चालन हुने सबै क्यासिनोको पछाडिको ढोकाबाट जुवाडे छिराएर खेलाउने गरिन्थ्यो। यही विषयलाइ लिएर बाँकेका एसपी अधिकारीको चर्को आलोचना भएको थियो ।

प्रहरी प्रधान कार्यालयले समेत चासो राखेपछि एसपी अधिकारीको निर्देशनमै क्यासिनोहरू बन्द गरिएको प्रहरी स्रोतले बतायो ।

एसपीको निर्देशनपछि प्रहरीले क्यासिनो सरसफाइमा रहेका कर्मचारीहरूलाई बाहिर निकालेर मुख्य प्रवेशद्वारमा नै साँचो लगाएको छ ।

यस विषयमा कुरा गर्दै एसपी अधिकारीले प्रहरीको संरक्षणमा क्यासिनो सञ्चालन नभएको दाबी गर्दै यदि क्यासिनो सञ्चालन भइरहेको छ भने तत्काल बन्द गर्न निर्देशन दिइसकेको बताए । उनले भने, ‘निर्देशनपछि क्यासिनोहरू बन्द भइसकेको अवस्था छ ।’

क्यासिनो बन्द भएपछि काठमाडौंलगायत अन्य क्षेत्रबाट जुवा खेल्न पुगेका जुवाडेहरु यतिबेला नेपालगञ्ज एयरपोर्टमा अलपत्र अवस्थामा रहेको स्रोतले बतायो । देशका अन्य होटलहरुमा क्यासिनो बन्द रहेपछि जुवा खेल्नकै लागि नेपालगञ्ज पुग्ने गरेका थिए । स्रोतले भन्यो, यतिबेला नेपालगञ्ज एयरपोर्टमा जुवाडेहरुको भिड लागेको छ ।’

नेपालगञ्जका सोल्टी होटल, होटल स्नेहा, होटल ड्रिम ल्याण्ड र होटल सिद्धार्थ भ्यूले क्यासिनो सञ्चालनको अनुमति लिएका थिए । कोरोना महामारीको समयमा यी सबै क्यासिनोहरू सञ्चालनमा रहेको कुरा अनलाइनन्यूज७ ले समाचार प्रकाशित गरेको थियो ।

एक दिनकै ३ लाख भारतीय रुपैयाँ लिएर एसपी अधिकारीमाथि साँझ ८ बजेदेखि बिहान ६ बजेसम्म क्यासिनो सञ्चालन गर्न अनुमति दिएको आरोप छ । क्यासिनो सञ्चालनको तयारीमा रहेकै बेला आजै अनलाइनन्यूज७ मा समाचार प्रकाशित भएपछि तत्काल बन्द गर्न उनले निर्देशन दिएका हुन् ।

प्रतिक्रिया