बाँके एसपी अधिकारीको अवैध कमाईको कथाः लामाले क्यासिनोमा डुबाए ९० लाख


काठमाडौं– कोरोना महामारीका कारण ठूला–ठूला क्यासिनोहरु बन्द भए पनि बाँकेको नेपालगन्जमा मिनि क्यासिनोहरु अवैध रुपमा सञ्चालन हुने गरेका छन्।

‘प्रहरी सेटिङमा कोरोना महामारीबीच क्यासिनो सञ्चालन, बाँकेमा जुवा खेलाउनेको नालीबेली’ शीर्षकमा यसअघि अनलाइनन्युजले समाचार लेखेको थियो।

तर बाँके प्रहरीको यो क्रम नरोकिएको स्रोतहरुको दाबी छ। प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले एउटा क्यासिनोबाट दिनकै ३ लाख भारतीय रुपैयाँ लिएर सञ्चालन गर्न अनुमति दिएको नयाँ खुलासा भएको छ। एसपी अधिकारीले साँझ ८ बजेदेखि बिहान ६ बजेसम्म क्यासिनो सञ्चालन गर्न दिएको स्रोतको दाबी छ।

यसरी कानुनले अवैध भनिए पनि क्यासिनो सञ्चालकहरूले प्रहरीलाई मासिक रुपमा रकम दिँदै नेपालीहरूलाई प्रवेश गराई जुवा खेलाउने गरेको गुनासो आए पनि यसप्रति प्रहरी प्रधान कार्यालय मौन बसेको छ।

केही दिनअघि मात्र नेपालगन्जको सोल्टी होटलमा रहेको ‘महाजंग’ मिनि क्यासिनोमा काठमाडौंको बौद्ध क्षेत्रका जुवाडे राजन लामाले ३ दिनको अन्तरालमा ९० लाख भारतीय रुपैयाँ हारेको उनी निकट स्रोतले बतायो। लामा नामुद जुवाडेको रुपमा चिनिन्छन्।

यस्तै महाजंग क्यासिनोका मार्केटिङ अफिसर रहेका विष्णु भनिने अब्जोशी बिबस शर्माले जुवा खेलाउनको लागि मान्छेहरु सम्पर्कमा ल्याउने काम गर्छन्। उनले जुवाडेहरुलाई क्यासिनोमा बोलाउने र मिटरब्याजमा पैसा दिने गरेको समेत पाइएको छ।

त्यस्तै दोलखाका इन्द्र नेवारदेखि नेपालमा नाम चलेका अधिकांश जुवाडेहरु क्यासिनो बन्द भएपछि बाँकेको नेपालगन्जमा रहेको मिनि क्यासिनोहरुमा पुग्ने गरेका छन्। भारतीय सीमा क्षेत्र रहेको नेपालगन्जका मिनी क्यासिनोहरूमा दैनिक २ देखि ३ करोडसम्म्मको कारोबार हुने गर्दछ।

‘कोरोना महामारीभन्दा अघि महिनाको २–३ करोडको कारोबार हुँदैनथ्यो,’ स्रोतले भन्यो, ‘अहिले दिनमै एउटा क्यासिनोले २–३ करोडको कारोबार गर्छ। उक्त क्यासिनोहरुमा जुवा खेल्ल्न भारतीय नागरिकहरु पनि आउने गर्छन्।’

महाजगं क्यासिनोका सञ्चालक हुन् विनोद श्रेष्ठ। नेपालगञ्जका चार वटा होटलले मिनि क्यासिनो सञ्चालन गर्ने अनुमति लिएका छन्। सोल्टी होटल, होटल स्नेहा, होटल ड्रिम ल्याण्ड र होटल सिद्धार्थ भ्यू। पछिल्लो समय चारवटै क्यासिनोहरु सञ्चालित छ।

अवैध रुपमा सञ्चालन हुने सबै क्यासिनोको पछाडिको ढोकाबाट जुवाडे छिराएर खेलाउने गरिन्छ। नेपालको कानुनअनुसार क्यासिनोमा नेपालीलाई प्रवेश निषेध छ। तर, क्यासिनोमा नक्कली आर्ईडी बनाएर नेपालीहरूलाई सहजै प्रवेश गराई जुवा खेलाउने काम भइरहेको स्रोत बताउँछ।

यस विषयमा एसपी अधिकारीले कुनै सत्यता नभएको बताए। उनले भने, ‘यहाँ आएर बुझ्दा सबैकुरा प्रष्ट हुन्छ। हचुवाको भरमा कसले के भन्छ, म जान्न सक्दिन।’

सिद्धार्थ भ्यूमा सञ्चालित ज्याकपट ग्याम्लिङ सेन्टर,  होटल ड्रिमल्याण्डमा सञ्चालित ह्याप्पी आवर क्यासिनो समेत अवैध रुपमा सञ्चालन भइरहेको प्रहरी स्रोत नै बताउँछ। यस विषयमा एसपी अधिकारीले झुट बोलेको कुरा यहिँबाट प्रष्ट हुन्छ।

मिनी क्यासिनो सञ्चालकहरुले वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख र प्रदेश प्रहरी कार्यालयका प्रमुखलाई समेत पैसा बुझाउने गरेको स्रोतको दाबी छ। लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी मुकुन्द आचार्यले नै क्यासिनो खुलाउन दबाब दिएको खुलेको छ।

केही समयअघि सवारी दुर्घटनामा मृत्यु भएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कपिल वाग्लेको घटनामा समेत आचार्य मुछिएका थिए। गृह मन्त्रालयले सहसचिव सुनील खनालको नेतृत्वमा छानबिन समिति समेत गठन गरेको थियो।

बाँकेको कोहलपुरबाट डिआईजी आचार्य र एसपी अधिकारीको मिलेमतोमा ३ किलो सुन गायब भएको खबर समेत आएको छ। सुन गायब भएपछि यतिबेला प्रहरी संगठनभित्र खैलाबैला मच्च्चिएको छ।

प्रतिक्रिया