
प्रहरीका हाकिमसँग फोटो खिचाउने खेमराज खनाल पक्राउ
प्रहरी नायब महानिरीक्षक (डिआईजी) हुँदा हालका प्रहरी महानिरीक्षक (आईजी) शैलेश थापा क्षत्रीसँग खेमराज खनाल।
काठमाडौं – प्रहरी अधिकारीसँग पत्रकार भनी परिचय दिने र अन्यलाई प्रहरी भनी ‘घुस लिने’ खेमराज खनाल पक्राउ परेका छन्। महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले खनाललाई बालाजुबाट पक्राउ गरेको हो।
प्रहरीसँग भेट्दा घाँटीमा मिडियाको कार्ड रसर्वसाधारणलाई भेट्दा नेपाल प्रहरी लेखेको डोरी झुन्ड्याउने गरेका खनाललाई ठगीको आरोपमा बालाजुबाट पक्राउ परेको एक प्रहरी अधिकारीले पुष्टि गरेका छन्।
प्रहरीका हाकिमसँग काँध जुधाएर फोटो खिच्दै फेसबुकमा पोष्ट गर्ने खनालले बाँके नेपालगन्जका बसन्त शर्मालाई ज्यान मार्ने धम्की दिएको अडियो अनलाइनन्यूज७ ले सार्वजनिक गरेको थियो।
शर्मासँग खनालले नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पैसा लिएका थिए। पहिलोपल्ट ५० हजार रुपैयाँ बैंकमा हाल्दिएको र दोस्रोपटक एक लाख रुपैयाँ आईएमई गरिदिएका थिए शर्माले।
शर्माले खनालको नाममा पैसा हाल्दिएको स्लिप हामीलाई उपलब्ध गराएका छन्। जुन स्लिपमा बैंकमा ५० हजार र आईएमईमार्फत एक लाख पठाएको प्रष्ट छ।
पक्राउ परेका खनालले सामाखुसीस्थित एक टेलर्समा आफू प्रहरीको कपडाको ठेक्कापट्टा गर्ने मान्छे भन्दै एकजोर सुटपाइन्ट समेत सिलाएर लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका खनालमाथि थप सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
यो पनि पढ्नुहोस्
प्रहरीका हाकिमसँग फोटो खिचाउने खेमराजले घुस लिएको रकम नफर्काउन दिए धम्की (अडियोसहित)



कागजपत्र |
