प्रहरीका हाकिमसँग फोटो खिचाउने खेमराजले घुस लिएको रकम नफर्काउन दिए धम्की (अडियोसहित)

विवादीत खनाललाई प्रधान कार्यालयले दिएको सम्मान फिर्ता गरिएको थियो


काठमाडौं– प्रहरी अधिकारीसँग पत्रकार भनी परिचय दिने र अन्यलाई प्रहरी भनी ‘घुस लिने’ खेमराज खनालले एक जना सर्वसाधारणलाई धम्की दिएको अडियो सार्वजनिक भएको छ।

प्रहरीसँग भेट्दा घाँटीमा मिडियाको कार्ड रसर्वसाधारणलाई भेट्दा नेपाल प्रहरी लेखेको डोरी झुन्ड्याउने गरेको उनका तस्बिरमा स्पष्ट छन्। सामाजिक सञ्जालमा उनले ‘वर्क एट नेपाल प्रहरीदेखि पत्रकारसम्म’ लेख्न भ्याएका छन्।

वर्तमान प्रहरी महानिरीक्षक (आईजी) शैलेश थापा क्षेत्रीदेखि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरु, प्रहरी नायब महानिरीक्षक (डिआईजी)हरु सबैसँगका तस्बिर राखेका छन्। खेमराजले आफूलाई पूर्व आईजीपी सर्वेन्द्र खनालको दाईको छोरा हुँ समेत भन्ने गरेको बताइन्छ।

प्रहरी प्रधान कार्यालयले प्रहरी दिवसमा खनाललाई सम्मान समेत गरेको थियो। पछि विवादित व्यक्तिलाई सम्मान गरेको भन्दै संगठनको चौतर्फी आलोचना भएपछि उनको सम्मानपत्र प्रधान कार्यालयले फिर्ता लियो।

त्यसरी दिएको सम्मानपत्र फिर्ता गरेछि पनि खनाल प्रत्येक दिन एउटा न एउटा प्रहरी कार्यालय पुग्थे र प्रहरीका हाकिमसँग फोटो खिचाउन भ्याइहाल्थे। उनलाई सम्मानपत्र फिर्ता गरेकोमा कुनै संकोच थिएन। उल्टो झन प्रहरी कार्यालयहरु धाउँधे, हाकिमहरुसँग चिया खाँदै गरेको सेल्फी खिचेर फेसबुकमा हाल्थे।

खनाल कुन मिडियामा आबद्ध छन् अहिलेसम्म धेरैलाई थाहा नै छैन। अर्को कुरा उनी प्रहरीले गरेको प्रायः पत्रकार सम्मेलनमा छुट्दैनन्।

यसरी प्रहरीका हाकिमसँग काँध जुधाएर फोटो खिच्दै फेसबुकमा पोष्ट गर्ने खनालले बाँके नेपालगन्जका बसन्त शर्मालाई ज्यान मार्ने धम्की दिएको अडियो बाहिर आएको छ।

त्यतिमात्र होइन, नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भन्दै खनालले पैसा लिएको प्रमाण फेला परेको छ। शर्माले अनलाइनन्यूजसँगको कुराकानीमा भने, ‘मेरो अंकल र दाईको छोरालाई प्रहरीमा जागिर लगाइदिन्छु भनेर खनालले सुरुमा ४ लाख मागेका थिए।’

त्यसपछि पहिलोपल्ट ५० हजार रुपैयाँ बैंकमा हाल्दिएको र दोस्रोपटक एक लाख रुपैयाँ आईएमई गरेको शर्माले बताए। शर्माले खनालको नाममा पैसा हाल्दिएको स्लिप हामीलाई उपलब्ध गराएका छन्। जुन स्लिपमा बैंकमा ५० हजार र आईएमईमार्फत एक लाख पठाएको खुल्छ।

हेर्नुहोस् पैसा हाल्दिएको भौचर

करिब १० महिनाअघि खनालले प्रहरीमा जागिर लगाइदिन्छु भन्दै एक लाख पचास लिएको शर्माको भनाई छ। शर्मा भन्छन्, ‘सुरुमा ४ लाख मागे पनि काम भएपछि बाँकी रकम दिन्छु भनेको थिएँ। पछि काम भएन, अनि दिएको रकम फिर्ता माग्दा उल्टो धम्की दियो।’

खनालसँग शर्माले फेसुबकमार्फत चिनजान गरेका थिए। ‘सुरुमा फेसबुक हेर्दा मलाई पनि लाग्यो कि, यो मान्छे ठूलै होला। आईजीदेखि सिपाहीसम्मको फोटो थियो। त्यसैले विश्वास लाग्यो, अनि पैसा हाल्दिएँ,’ शर्माले भने।

अहिले पैसा माग्दा उल्टो ज्यान मार्ने धम्की दिएको शर्माले बताए। दुबईमा मान्छे मारेको मुद्दामा १३ वर्षअघि जेल बसेको मान्छे हुँ भन्दै खनालले शर्मालाई धम्क्याएको अडियोमा उल्लेख छ। खनालले धम्क्याएको अडियो सुन्नुहोस्

पैसा नदिने भए प्रहरीकोमा जान्छु भन्दा उल्टो खनालले शर्मालाई ज्यानमारा केस हाल्ने धम्क्याएका छन्। खनालले भनेका छन्, ‘तिमी बच्चा हौ। कानुनको कुरा नगर। मेरो दाईको छोराको उमेर भन्दा पनि कम छौं।’

पछि खनालको फेसबुकका साथीहरुलाई फ्रेन्ड रिक्वेष्ट पठाएर बुझ्दा ट्राफिक प्रहरीहरुलाई समेत ठगेको शर्माले बताए। यतिबेला खनालले धेरैलाई ‘ठगे’को हुन सक्ने शंका उब्जिएको छ। प्रहरीको हाकिमसँग फोटो खिच्दैमा खनालले आफूलाई कसैले केही गर्न नसक्ने बताउँदै आएका छन्।

वर्क एट नेपाल प्रहरीदेखि टेलिकमसम्म!

सधैं प्रहरी कार्यालय पुगेर फोटो खिच्नमा व्यस्त खनालले आफूलाई नेपाल प्रहरीको कर्मचारी भनेका छन्। खनालको फेसबुकमा गएर हेर्दा उनले वर्क एटमा नेपाल प्रहरी लेखेका छन्। जबकी उनी प्रहरीको कर्मचारी होइनन्।

यसरी नेपाल प्रहरीको कर्मचारी भनेर लेखेको प्रहरीका धेरै हाकिमहरुले समेत देखेका होलान्। तर, उनलाई किन लेखिस् भनेर सोध्ने आँट गरेका छैनन्। त्यस्तै आफूलाई उनले नेपाल टेलिकमको कर्मचारी समेत भनेका छन्।

उनले प्रहरीको सेटको दुरुपायोग गरी खिचेको तस्बिर पनि फेला परेको छ। यसरी कुनै पनि संस्थामा आबद्ध नभएको व्यक्तिले दुरुपयोग गरिरहँदा सम्बन्धित निकाय मौन छ। त्यतिमात्र होइन उनले आफू १ दर्जनभन्दा बढी मिडियामा कार्यरत रहेको कुरा समेत फेसबुकमा खुलाएका छन्।

नाम नखुलाउने सर्तमा बहालवाला एकजना डिआईजीले भने, ‘आफूलाई मिडिया भन्दै आएर फोटो खिचौं भनेपछि कसरी नखिचौं? हाकिमहरुसँग पनि फोटो देखेको हुन्छु। त्यसपछि फोटो खिच्नेबित्तिकै फेसबुकमा हालिहाल्दो रहेछन्। बडो गाह्रो छ।’

खनालको अडियो, प्राप्त प्रमाणका आधारमा रकम लिएको हो या होइन? के छ तपाईको प्रतिक्रिया भनी अनलाइनन्युजले उनको नम्बर ९८५११३४६९२ मा सम्पर्क गरेको थियो। तर, उनको मोबाइल स्वीच अफ थियो।

प्रतिक्रिया