

साढे ५ किलो चरेश र १ लाख २० हजार नगदसहित दुई जना पक्राउ

कैलाली – प्रहरीले कैलालीको गौरीगंगा नगरपालिकाबाट ५ किलो ५ सय ग्राम चरेश सहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौरीगंगा-११ घर भएका ४० वर्षीय गोरे धामी उर्फ गोरख र गोदावरी नगरपालिका-६ घर भएका धन बहादुर धामी छन् ।
सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको संयुक्त टोलीले आरोपीहरुको साथबाट १ लाख २० हजार नगद पनि बरामद गरेको छ । पुर्वपश्चिम राजमार्गबाट पक्राउ परेका गोरे धामीको साथमा चरेश फेला परेको थियो ।
साढे ५ किलो चरेश धनबहादुरले दिएको बयानका आधारमा उनलाई गौरीगंगा-११ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डिएसपी) प्रतिक विष्टले बताए । उनीहरुबिरुद्ध लागु औषध मुद्दामा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

