काठमाडौं प्रहरी प्रमुखबाट एसएसपी ज्ञवालीलाई हटाउनुको कारण यस्ता छन्


काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखको जिम्मेवारीबाट प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयले हटाएको छ।

जिम्मेवारी दिइएको नौ महिनामा नै उनलाई हटाउनुका अनेक कारण रहेका छन्। उनको ठाउँमा एसएसपी अशोक सिंहलाई जिम्मेवारी दिइएको छ। सिंह यसअघि पनि एसपी हुँदा काठमाडौंमा सक्रियताका साथ काम गरेका अनुभवी ‘अफिसर’ हुन्।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत ज्ञवाली दाजु ठाकुरप्रसाद ज्ञवाली प्रहरी महानिरिक्षक (आईजी) भएका बेला काठमाडौं परिसरको प्रमुखको जिम्मेवारीमा पुगेका थिए।

तर उनी काठमाडौंको प्रमुखका रुपमा काम गर्ने क्रममा विभिन्न घटनाहरूलाई नियन्त्रणमा लिन सकेनन्। सम्भावित घटनाका विषयमा पनि उनले खासै चासोपूर्ण हिसाबले काम गरेका थिएनन्।

सिंहदरबार अगाडि चिनियाँहरूले प्रहरीहरूमाथि आक्रमण गरेका थिए। त्यो सम्भावित घटनाका बारेमा जानकार हुँदाहुँदै पनि ज्ञवालीले रोक्ने कोशिश गरेनन्। बरु, उक्त घटनामा उनलाई दाजु आईजी भएका कारण कुनै प्रष्टीकरण पनि सोधिएन।

सुन प्रकरणमा पनि ज्ञवालीको कार्य सम्पादन कमजोर सावित भएको थियो। कुनै पनि प्रहरी अधिकारीलाई समयावधि नपुगी सरुवा नगर्ने योजनामा रहेका आईजी शैलेश थापा क्षत्रीले काठमाडौंको सुरक्षा प्रणाली र अपराध अनुसन्धानलाई बलियो बनाउन ज्ञवालीलाई हटाएको चर्चा छ।

‘काठमाडौं संवेदनशील मात्र होइन, निक्कै प्रभावकारी हिसाबले काम गर्नुपर्ने ठाउँ हो। ज्ञवालीले कुनै वृत्तलाई पनि बलियो गरी चलाउन सकेनन्, त्यसकारण उनको सरुवा भएको हो’, प्रधान कार्यालय स्रोतले भन्यो।

ज्ञवाली भएकै बेला काठमाडौंमा गुन्डा र तिनका नाइकेको चहलपहल बढेका विवरण सतहमा आएका छन्। कतिपय ठाउँमा कुटाकुट र ज्यानै लिनेगरीका हमलाई नियन्त्रण गर्न, गुन्डागर्दी रोक्न समेत ज्ञवालीले प्रभावकारीताका साथ काम नगरेको प्रधान कार्यालयको मुल्यांकन छ।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गरेको भन्ने आरोपमा पक्राउ गरिएका विद्यार्थीलाई हिरासतमा नै राखेर यातना दिएको विषयमा पनि ज्ञवाली आलोचित थिए।

उता यहि मेसोमा काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिएर पठाइएका सिंहबाट भने शान्ति सुरक्षा र कार्यसम्पादनमा ठूलो आशा गरिएको छ। यसअघिका विभिन्न तहमा रहँदा उनले देखाएका कामका कारण नै प्रमुखको जिम्मेवारीमा अब्बल ठहरिन सक्ने आँकलन गरिएको छ।

सिंहले काठमाडौं परिसरको निमित्त प्रहरी प्रमुख भएका बेला नै कतिपय ठूला गुन्डागर्दीदेखि आपराधिक गतिविधिलाई निरुत्साहित गर्न प्रभावकारी काम देखाएका थिए।

प्रतिक्रिया