

ह्याम्स अस्पतालको अपराध छानबिन गर्न सरकारको समिति, २४ घन्टाभित्र प्रतिवेदन तयार पार्न निर्देशन

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)को परिक्षण रिपोर्ट पिसिआरको नक्कली नतिजा दिएको, कोभिड–१९ का बिरामीको उपचारखर्च अत्यधिक लिएकोलगायतका विषयमा काठमाडौंमा रहेको ह्याम्स अस्पताललगायतमाथि छानबिनका लागि सरकारले समिति बनाएको छ।
सरकारले स्वास्थ्य आपतकालिन तथा विपद व्यवस्थापन ईकाई तथा स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डा. मुकुन्दा शर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्दै २४ घन्टाभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिएको छ।
समितिमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका डा. अमृत पोखरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ल्याब विज्ञ टोलीका बलराम गौतम सदस्य छन्।

छानबिन गर्नका लागि गरिएको निर्देशन र समिति गठनको पत्र
ह्याम्स अस्पताललगायतले कालोबजारी गरेको तथा मोटो रकम लिएर नक्कली पिसिआर रिपोर्ट बेची विदेश जाने नेपालीलाई विमानस्थलमा सहज बनाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पत्राचारका आधारमा छानबिन समिति गठन भएको हो।
मण्डिखाटारमा रहेको ह्याम्ससँगै अन्य केही नीजि अस्पताल र ल्याबविरुद्ध पनि छानबिन हुने समितिले जनाएको छ। ह्याम्स, स्टार अस्पताललगायतलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले कोभिड १९ संकट ब्यवस्थापन केन्द्र र स्वास्थ्य मन्त्रालयलाई पत्र काटेको छ।
सुरिया हेल्थ केयर, सेन्ट्रल डाइनोष्टिक ल्यावोटरीलाई पनि कारबाहीका लागि सिफारिस गरिएको छ। स्वास्थ्य सामग्री महँगो शुल्कमा बेचेको भनेर वाणिज्य विभागले पनि ह्याम्सलगायतलाई कारबाहीको निगरानीमा राखेको छ।
नेपाल एयरलाइन्सका हङकङ्ग, युएईसहितका केही देशहरुमा उडान प्रतिबन्धमा परेका छन्। यीनमा ह्याम्सलगायतले नै रिपोर्ट दिएका यात्रु थिए। स्वाब नै संकलन नगरी यसरी नक्कली रिपोर्ट चलाएका थिए।
यी समाचार पनि पढ्नुहोस्
मुर्दा उपचार गर्ने शैलीमा ह्याम्सको लुट धन्दाः कालोबजारीमा कारबाही हुने प्रशस्त प्रमाण
बिरामीसँग मनपरी लुटेको करोडौं रकम जुवा खेल्छन् सञ्चालक भण्डारी
‘मुर्दा उपचार गरी रकम लुट्ने’ शैलीको ह्याम्स अस्पतालका काला कर्तुतहरू यस्ता छन्

