चितुवाको छालासहित स्वयम्भूबाट २ जना पक्राउ


काठमाडौं– महानगरीय अपराध महाशाखाले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । चितुवाको छाला अवैध रुपमा ओसारपसार गर्ने भन्ने गोप्य सूचनाको आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौंको स्वयम्भूबाट दुई जनालाई पक्राउ गरेको हो ।

सिन्धुली जिल्ला मरिन गाउँपालिका –३ घर भई हाल स्वयम्भू बस्नेत ३२ वर्षीय सुशीलकुमार वाईबा र घ्याङखेल गाउँपालिका–१ घर भई हाल स्वयम्भू नै बस्ने ३४ वर्षीय कान्छाराम वाइबालाई १ थान चितुवाको छालासहित पक्राउ गरिएको महाशाखाका सूचनाअधिकृत कृष्णप्रसाद कोइरालाले बताए ।

उनीहरुले चितुवाको छाला ६ लाख रुपैयाँमा बिक्री वितरण गर्न लागेको जनाइएको छ । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान जारी रहेको पनि कोइरालाले बताए ।

लोपोन्मुख जनावरका रुपमा रहेको चितुवाको बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लागेको नेपालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ अनुसार दण्ड सजाय ५ लाख रुपैयाँदेखि १० लाख रुपैयाँ जरिवाना वा पाँच वर्षदेखि १० वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था रहेकोले अनुसन्धानपछि निजहरूलाइ कारबाहीका लागि प्रकृया सुरू गरिने प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया