

स्व. सुशील कोइरालाको निर्वाचन क्षेत्रका कांग्रेस सभापति खत्रीले बनाए ४ सय फर्जी सदस्य

काठमाडौं– बाँके निर्वाचन क्षेत्र नम्बर–१ का कांग्रेस सभापति माधवराज खत्रीले चार सय फर्जी क्रियाशील सदस्यता बाँडेको खुलासा भएको छ। कांग्रेस महाधिवेशन नजिकिएका बेला खत्रीको उक्त क्रियाकलापको खुलासा भएको हो।
उक्त क्षेत्र पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसकाका पूर्वसभापति स्वर्गीय सुशील कोइरालाको हो। क्षेत्रीय सभापतिले पार्टीको बिधि–विधान, नियमावली, निर्देशीका र निर्णय विपरित त्यसरी सदस्यता बाँडेको खुलेको हो।
कोहलपुर नगरपालिका, नरैनापुर गाउँपालिका र राप्ती सोनारी गाउँपालिकाको विभिन्न वडाको लागि वडा, गाउँ, नगर र क्षेत्रीय कार्यसमितिले गरेको सिफारिस विपरित सदस्यता वितरण गरेको खुलेको हो।
खत्रीले पुराना नेता र कार्यकर्ताको क्रियाशील सदस्यबाट नाम हटाएर चार सय वटा नक्कली फारम छपाई किर्ते रुपमा सदस्यता वितरण गरेको बताइन्छ। दुई हजार २९ जनामध्ये केहीको नाम टिपेक्स लगाएर हटाइ नयाँ नाम राखिएको पाइएको क्षेत्रीय सचिव सचिव तप्त पौडेलले जानकारी दिए।
क्षेत्रीय सभापति खत्रीले नरैनापुरका १, २, ३ र ५ वडा, कोहलपुर नगरपालिका ८, १० र १२ वडाहरुमा नयाँ सदस्यता भरेको भेटिएको हो। राप्ती सोनारी–१ मा १०६ जनाको नाम सिफारिस गरेकोमा २४ जनाको नाम काटेर खत्रीले फर्जी काम गरेका हुन्।
यसैगरी राप्तीसोनारीमा किसान संघका क्षेत्रीय सभापति जुगलाल थारु र तरुण दलका सदस्य अर्जुन बुढाथोकीको नाम हटाइएको छ। सोही गाउँपालिकाको वडा नम्बर ८ मा ८१ ज्नामा २९ जनाको नाम थपिएको पनि भेटिएको बताइन्छ।
विजयकुमार गच्छादारको तत्कालिन मधेसी जनाधिकार फोरम लोकतान्त्रिकबाट समायोजन भएका तीन सय ८३ मा ४० वटा नाम परिवर्तन गराउने किर्ते काम खत्रीले गरेका छन् । केन्द्रीय कार्यालयका सचिव केशव रिजालको निर्देशन र संरक्षणमा खत्रीले यसरी मनपरी गरेको स्थानीय नेता बताउँछन्।
कोहलपुर–१ मा नयाँ क्रियाशिल सदस्यता ३२ थप्नु पर्नेमा ४७ जनाको नाम थपेर फर्जी काम गरिएको छ। कोहलपुर–२ मा ६६ जना मात्र थप्नु पर्नेमा १ सय ११ जना बनाइएको छ। जहाँ ४५ जना घुसाईएको हो। कोहलपुर– १० का पुरानो क्रियासिल सदस्य १९४ रहेकामा नयाँ १८० दिइएको मध्ये एक सय ३५ फारम बुझाइए पनि ४५ गायव पारिएको छ।
नरैनापुर– ३ का ४१ थान क्रियाशिल सदस्यको फारम गायव छन् भने वडा नम्बर ५ का २९ वटा सदस्यको नाम छुट्याइएको छ।

