गंगा अर्थात् मौलिक गीत गाउने मान्छे!
काठमाडौं– एउटा भनाई छ– यदि यो कहिले नयाँ होइन, कहिले पुरानो हुँदैन भने त्यो लोक गीत हो। लोक संगीत हो।
संगीत साधारण विषय होइन। लोक संगीत झनै साधारण होइन। तर यसको तालमा आफ्नो जीवनलाई साधारणतयले अगाडि बढाउने कामचाहिँ असाधारण हुन सक्छ।
गंगा गौतम आचार्य यस्तै पात्र हुन्। गीत हिट हुने कुरा एउटा भयो तर लोक लयलाई समातेर हिँडिरहने विषय अर्को हो। गंगा लोक लयको निम्ति हिँडेकी छन्।
पूर्वी नेपालका धेरै ठाउँमा हुने महोत्सव, मेलामा उनले स्टेज सम्हालेकी छन्। त्यसैले धेरैले उनलाई भन्छन्– मौलिक गीत गाउने मान्छे!
सुनसरीको इटहरी बस्ने उनका गन्न सकिने गीत रेकर्ड छन्। तर सबै मौलिक लयका नै। पूर्वेली भाकामा रमाउने उनी भन्छिन्,‘हामीले योगदान धेरै नगरे पनि यसको जगेर्नाका लागि सक्रियता देखाउँदा राम्रो हुन्छ भनेरै लोक लयमा रमाएकी छु।’
गीत गाउने उनको सौख थियो। पारिवारिक रेखदेखको कर्तव्यका कारणले गायनको बाटोलाई अलिक ढिलोगरी समातिन्, सन्तान हुर्किएपछि। तैपनि सक्रियता देखाउन सफल मानिन्छिन्।
कोभिड–१९ का कारण हाल कतै पनि कार्यक्रम छैनन्। त्यसैले सांस्कृति परम्परासम्बन्धी गीतमा उनको ध्यान खिचिएको छ। हालै मात्र उनले देउसी भैलोको गीत ल्याएकी छन्।
‘प्रतिकूल अवस्था नभएको भए यसबेला विभिन्न ठाउँका कार्यक्रममा स्टेज सेयर हुन्थे होला, अहिले घरमा बसेरै लोक भाकालाई कसरी अगाडि बढाउन सकिन्छ भनेर लागि परेकी छु’, गंगा भन्छिन्।
तीज, दशैं, तिहार छेक अक्सर उनका सृजना दर्शक स्रोताका लागि हुने गरेका छन्। त्यसैले पनि स्थानीय स्तरमा उनले स्टेजकै निम्ति फूर्सद बस्नु पर्दैन थियो, निम्तो आइहाल्थ्यो।
‘अवस्था सुधार भएपछि फेरि पनि अनेक ठाउँमा कार्यक्रम हुन्छन्। त्यसबेलासम्म अहिलेको अवस्थालाई स्वस्थ्य बस्ने, सुरक्षित बस्ने समयका रुपमा लिनुपर्छ।’