चितवन प्रशासनद्वारा तिहारमा देउसी भैलो खेल्न रोक


चितवन – जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि चितवनमा देउसीभैलो खेल्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले चाडपर्व लक्षित एकीकृत सुरक्षा योजनाअन्तर्गत तिहारमा खेलिने देउसीभैलो खेल्न रोक लगाएको हो ।

१४ बुँदे यो योजनाअन्तर्गत बुँदा नम्बर ३ मा भेला भई गरिने शुभकामना आदानप्रदान, देउसीभैलो, खेलकूदलगायतका क्रियाकलाप सञ्चालन नगर्न अनुरोध गरिएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले निषेधाज्ञा लागू नभए पनि महामारी नियन्त्रणका लागि चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको बताए ।

आवागमन तथा जमघटले कोरोना सङ्क्रमण उच्च हुने जोखिम रहेकाले चाडपर्व मनाउँदा एकाघरमा बसेर मनाउन उनले आग्रह गरे ।

उनका अनुसार घरदैलोमै पुगेर खेलिने देउसीभैलोका कारण सङ्क्रमणको जोखिम भएकाले देउसीभैलो खेल्न पूर्ण रोक लगाइएको हो । पटाका, आतसबाजीलगायतका विष्फोटक पदार्थ ओसारपसार तथा प्रयोग नगर्नसमेत अनुरोध गरिएको छ ।

जुवातास, चिट्ठा खेल्नेलगायतका गतिविधिमा समेत निगरानी राखिएको उनले जानकारी दिए ।

चितवनमा हालसम्म पाँच हजार १० जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । तीमध्ये तीन हजार ३१४ जना निको भएर घर फर्किसकेका छन् भने ७६ जनाको मृत्यु भइसकेको छ । हाल एक हजार ६२१ सक्रिय सङ्क्रमित छन् ।

प्रतिक्रिया