कोरोना संक्रमित नेपालीका लागि गायक रामकृष्ण ढकालले जुटाए १८ लाख (भिडियो)


काठमाडाैं – गायक रामकृष्ण ढकालले कोरोना संक्रमित नेपालीका सहयोग जुटाएका छन् । अमेरिकामा रहेका ढकालले नेपालीका लागि १८ लाख रुपैयाँ सहयोग जुटाएका हुन् ।

उनले अमेरिकामा रहेका नेपाली तथा नेपाली भाषी भुटानीसँग अपिल गरेर १८ लाख रुपैयाँ सहयोग जुटाएका हुन् ।सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेका ढकाल अहिले उतै छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘हामी सबै नेपालीको जन्मभूमी नेपालमा कोरोना महामारीको कहर मच्चिँदा अक्सिजन सिलिण्डरको अभावमा हजारौंको ज्यान गइरहेको तीतो यथार्थ हामी सबैको सामु छर्लङ्गै छ । नेपालमा यस्तो विषम परिस्थिति हुँदा म भने सांगीतिक कार्यक्रमको क्रममा अमेरिकामा आएको बेला यतै रोकिएको छु ।

उनले अगाडी लेखेका छन्, ‘म विनम्रतापूर्वक राख्न चाहन्छु कि एक नेपाली संगीत साधकका रूपमा आज मेरो जुन परिचय बनेको छ । त्यो सबै नेपाली दाजु–भाइ तथा दिदी–बहिनीको स्नेह, साथ र सद्भावकै कारण बनेको हो । उहाँहरू नेपालमा कोरोनासँग जीवन–मरणको युद्ध लडिरहेका बेला अमेरिकामा रहेकैबेला पनि केही सहयोग पुर्याउन सकिन्छ कि भन्ने पवित्र भावनाले मैले केही दिनअघि अमेरिकामा रहेका मेरा स्रोता–दर्शकमाझ सहयोगको आह्वान गरेको थिएँ ।’

आफूले गरेको आह्वानमा अमेरिकामा रहेका नेपाली तथा भुटानी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले खुला हृदयले सहयोग गरेको उनले बताएका छन् ।

अझै पनि केही सहयोग रकम प्रदान गर्ने धेरैले बताइरहेकाले त्यो रकम प्राप्त भएमा नेपालको सामाजिक सेवामा उल्लेखनीय योगदान पुर्याइरहेका अन्य व्यक्तित्वहरूबाट स्थापित संस्थाहरूमार्फत् सहयोग गर्ने गायक ढकालले बताएका छन् ।

भिडियो:

प्रतिक्रिया