

यता डिस्चार्ज उता अस्पताल भर्ना…

काठमाडौं – नेपाली कलाकारिता क्षेत्रका लोकप्रिय अनुहार मदनकृष्ण श्रेष्ठ आठ दिनपछि शुक्रवार राति अस्पतालबाट डिस्चार्च भएकै दिन क्षेत्रका लोकप्रिय स्वर गायक प्रेमधवज प्रधान शुक्रवारै अस्पताल भर्ना भएका छन् ।
कोरोना संक्रमण भएपछि मेडिसिटी अस्पताल भर्ना भएका कलाकार मदनकृष्ण श्रेष्ठ आठ दिनपछि डिस्चार्ज भएका हुन् ।डिस्चार्च भएपछि शुक्रबार राति नै सामाजिक सञ्जाल फेसबुकमार्फत एउटा भिडियो शेयर गर्दै कलाकार श्रेष्ठले आफू आठ दिनपछि मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएको बताएका हुन् ।
‘आज आठ दिनपछि मेडिसिटी अस्पतालबाट उपचारपछि डिस्चार्ज भएर आएको छु । खुशी लागिरहेको छ । तर, यो दु:खको घडी हो । यो संसारको प्रलय हो । यो बेला सबैलाई माया गरौँं’ मदनकृष्णले भनेका छन्– ‘शरीर फलामजस्तो लाग्थ्यो । पहाड फोडिदिउँ जस्तो लाग्थ्यो । शरीर त हावा रहेछ । त्यसैले यो बेलामा राजनीतिक इख पाखेर आफ्नो मनलाई फोहोर नबनाऔं । बिन्ती छ, सबैले सबैको राम्रो र भलाइ सोचौं । एकले अर्कालाई वैमन्यश्यता पालेर केही फाइदा छैन । मनमा राक्षसपन पलाउनु मात्र रहेछ ।’
मदनकृष्णले कोरोनाले धेरै कमजोर बनाउने भएकाले हेलचक्र्याई नगर्न पनि आग्रह गरेका छन् । आफ्नो परिवारले छिमेकीबाट धेरै माया पाएकाले आफू भाग्यमानी रहेको समेत उनले बताएका छन् । उनले मास्कलाई कुनै पनि हालतमा नछोड्न आग्रह समेत गरेका छन् । उता, वरिष्ठ गायक प्रेमध्वज प्रधान कोभिडको आशंकामा शुक्रबार न्यूरो अस्पतालमा भर्ना गरिएको छ ।
फिल्म निर्देशक प्रकाश सायमीले सामाजिक सञ्जाल फेसबुकमार्फत उनी अस्पताल भर्ना भएको जानकारी दिएका हुन् । सायमीका अनुसार गायक प्रधानको पाँचवर्ष अघि सन् २०१६ मार्च १५ मा हैमाटोमाको सफल शल्यक्रिया गरिएको थियो ।शल्यक्रिया पश्चात उनी निकै स्वस्थ देखिएका थिए ।

