

नेपाल प्रहरीको चैत महिनाको मासिक कार्य प्रगति समीक्षा कार्यक्रम सम्पन्न

काठमाडौं — प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको उपस्थितिमा नेपाल प्रहरीको चैत महिनाको मासिक प्रगति समीक्षा कार्यक्रम बुधबार प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल प्रहरीको कार्ययोजना २०७७, कार्य सम्पादन सम्झौता तथा प्रहरी हवल्दारर प्रहरी जवान लक्षित उत्प्रेरणा अभिवृद्धि योजनाका बारेमा समीक्षा गरियो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी संगठनमा एउटा प्रणालीको विकास गर्न खोजिरहेको चर्चा गर्दै नेपाल प्रहरीले लागू गरेको कार्ययोजना अनुरुप प्राप्त जिमेवारीप्रति थप सक्रिय भई कार्य सम्पादन गर्नुपर्ने बताए । कार्य सम्पादन सम्झौता अनुरुप फरार अभियुक्त पक्राउ, हातहतियार बरामद, राजश्व संकलनमा वृद्धि लगायतका गतिविधिमा राम्रो सफलता हासिल गरेको उनले चर्चा गरे । जघन्य अपराध, अवैध लागूऔषध लगायतका आपराधिक गतिविधि न्यूनीकरण गर्न प्रहरी कर्मचारी थप चनाखो भई अझ बढी क्रियाशील हुनुपर्नेमा उनले जोड दिए ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कोभिड(१९ को विषम परिस्थितिप्रति संवेदनशील हुनुपर्ने उल्लेख गर्दै कोभिड-१९ नियन्त्रणका उपाय र मापदण्डलाई गम्भीरता पूर्वक लिई स्थानीय स्तरमा संक्रमण फैलिनबाट रोक्नको लागि सक्रिय भूमिका निर्वाह गर्न प्रहरी कर्मचारीलाई आग्रह गरे ।
कार्यक्रममा सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुले भर्चुअल रुपमा तथा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रतिनिधिले कार्यक्रममा उपस्थित भई आ(आफ्नो कार्यालयबाट गत चैत महिनामा सम्पन्न भएका कार्यहरु सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।
प्रस्तुतीकरणमा शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, प्रभावकारी अपराध अनुसन्धान तथा प्रविधियुक्त अनुसन्धान प्रणाली विकास, ट्राफिक व्यवस्थापन सुधार, आर्थिक अनुशासन र पारदर्शिता, गुनासो व्यवस्थापन, भौतिक पूर्वाधार र स्रोत साधनको व्यवस्थापन, मानव स्रोतको व्यवस्थापन प्रणाली विकास, नागरिक केन्द्रीत प्रहरी सेवा प्रवाहमा सुदृढिकरण, मानव अधिकार संरक्षण र सम्वर्द्धन, सुरक्षा निकाय तथा अन्य निकायहरुसँगको समन्वय र सहकार्यको प्रभावकारिता, विपद् व्यवस्थापन क्षमता अभिवृद्धि, नविनतम् कार्यको सुरुवात तथा कार्यान्वयन र अन्य उल्लेखनीय प्रयास तथा उपलब्धीबारे विस्तृत विवरण समेटिएको थियो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थितिको साथै सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

