सेफ सन्तोष साहलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति


काठमाडौं-  ठगी तथा बैंकिङ कसुरसम्बन्धी आरोपमा पक्राउ परेका चर्चित सेफ सन्तोष साह र उनका सहोदर दाइ नारायण साह सुडीलाई अदालतले तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई गत शुक्रबार जनकपुरबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो। सोमबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएका दुवैजनामाथि प्रारम्भिक अनुसन्धानका लागि तीन दिनको म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।

प्रहरीका अनुसार गैरीधारास्थित एक रेस्टुरेन्ट खरिद गर्ने क्रममा सहमतिअनुसारको रकम भुक्तानी नगरी ठगी गरेको आरोपमा पूर्वसञ्चालक सकुन्तला थापाले उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सन्तोष साह र नारायण साह सुडीलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले सन्तोष साह पक्षले ‘मिथिला थाली’ नामक रेस्टुरेन्ट सञ्चालन गर्दै आएको जनाएको छ। यसै प्रकरणमा मिथिला थालीका अन्य दुई सञ्चालकविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको प्रहरीले जानकारी दिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया