
वीर अस्पतालमा २४ घण्टाकाे ड्युटीपछि रेजिडेन्ट चिकित्सकलाई अनिवार्य बिदा
काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले आवासीय चिकित्सक (रेजिडेन्ट डाक्टर) को ड्युटी व्यवस्थामा महत्वपूर्ण परिवर्तन गरेको छ।
न्याम्सका सहायक डिन प्रा.डा. विकासविक्रम सिंह अधिकारीले सोमबार परिपत्र जारी गर्दै २४ घण्टाको ड्युटी पूरा गरेका आवासीय चिकित्सकलाई बिहानको राउण्ड सकेपछि अनिवार्य रूपमा बिदा दिन निर्देशन दिएका हुन्।
यसअघि न्याम्समा आवासीय चिकित्सकहरूले लगातार ३६ घण्टासम्म ड्युटी गर्नुपर्ने अवस्था रहेको थियो। लामो कार्यघण्टा र अत्यधिक कार्यबोझका कारण उनीहरू शारीरिक तथा मानसिक दबाबमा पर्ने गरेका थिए।
नयाँ व्यवस्थासँगै रेजिडेन्ट चिकित्सकमाथिको कार्यबोझ केही हदसम्म कम हुने अपेक्षा गरिएको छ। परिपत्रमा भनिएको छ, “यस प्रतिष्ठानमा अध्ययनरत रेजिडेन्ट चिकित्सकहरूको २४ घण्टा ड्युटीपश्चात बिहानको राउण्ड सकिएपछि बिदा गरिदिनुहुन जानकारी गराइन्छ।” उक्त निर्देशन एमडी/एमएस/एमडिएस तथा डिएम/एमसीएच कार्यक्रमका संयोजकहरूलाई पठाइएको छ।
यसअघि नेपाल मेडिकल काउन्सिलले पनि आवासीय चिकित्सकहरू अत्यधिक कार्यबोझमा रहेको निष्कर्ष निकाल्दै मेडिकल कलेज, प्रतिष्ठान र विश्वविद्यालयहरूलाई ड्युटीपश्चात पर्याप्त आरामको व्यवस्था गर्न निर्देशन दिएको थियो।
न्याम्सको यो निर्णयलाई आवासीय चिकित्सकहरूको कार्य अवस्था सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।




कागजपत्र |
