कैदीलाई होटलमा लगेर मासु र बियर खुवाएको आरोपमा दुई प्रहरी बर्खास्त


काठमाडौं- काठमाडौंस्थित केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलमा रहेका एक कैदीलाई कारागारबाट बाहिर निकालेर होटलमा लगेर मासु, बियर खुवाउनुका साथै युवतीसँग भेट गराएको घटनामा संलग्न दुई प्रहरी कर्मचारी बर्खास्त भएका छन्।

जेठ १ गते कारागारमा रहेका अनुप भण्डारीलाई हतकडीबिनै बाहिर निकालेर होटल पुर्‍याइएको घटनाको छानबिनपछि प्रहरी सहायक हवल्दार होमबहादुर कुँवर र प्रहरी जवान टेकबहादुर विकलाई सेवाबाट हटाइएको हो।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डिआइजी ओम अधिकारीले घटनाबारे अनुसन्धानपछि दुवै प्रहरीलाई बर्खास्त गरिएको जानकारी दिए। उनले भने, “उनीहरूमाथि आवश्यक छानबिन गरी बर्खास्त गरिएको हो।”

प्रहरी स्रोतका अनुसार कुँवर र विकले भण्डारीलाई अस्पताल लैजानुपर्ने भन्दै कारागारबाट बाहिर निकालेका थिए। तर उनीहरू कैदीलाई होटलमा लगेर खानपिन गराउनुका साथै एक युवतीसँग समेत भेट गराएको तथ्य अनुसन्धानका क्रममा खुलेको छ।

स्रोतका अनुसार कैदीलाई कारागारबाहिर विशेष सुविधा उपलब्ध गराइएको र त्यसक्रममा सुरक्षा मापदण्डसमेत उल्लंघन भएको भेटिएपछि सम्बन्धित प्रहरी कर्मचारीमाथि कडा कारबाही गरिएको हो।

प्रतिक्रिया