डडेल्धुराबाट हराएका सशस्त्र जवानसहित दुई जनाको शव महाकाली किनारमा भेटियो


डडेल्धुरा-  डडेल्धुराको परशुराम नगरपालिका–५ बाट बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान ओमप्रकाश पुन मगर र उनका मामा नाता पर्ने स्थानीय तीर्थबहादुर थापा मगर मृत अवस्थामा फेला परेका छन्।

प्राप्त जानकारीअनुसार ५६ वर्षीय तीर्थबहादुर थापाको शव परशुराम नगरपालिका–५ अन्तर्गत महाकाली नदीको कल्पठ्ठे थान क्षेत्रमा फेला परेको हो। यस्तै, सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) परिगाउँमा कार्यरत जवान ओमप्रकाश पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेवस्थित महाकाली नदी किनारमा भेटिएको छ।

दुवै जना गत शुक्रबारदेखि सम्पर्कविहीन भएका थिए। उनीहरू आपसमा मामाभान्जा नाता पर्ने बताइएको छ। बेपत्ता भएपछि महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेको थियो। त्यसपछि सुरक्षा निकायले नदीमा बगेको हुन सक्ने आशंकामा खोजी अभियान सञ्चालन गरेको थियो।

खोजीका क्रममा तीर्थबहादुर थापाको शव कल्पठ्ठे नजिक महाकाली नदीमा तैरिरहेको अवस्थामा फेला परेको हो भने जवान पुनको शव नदीले बगाएर कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा पुर्‍याएको प्रारम्भिक अनुमान गरिएको छ।

थापाको शव परीक्षण जोगबुडा अस्पतालमा गरिने भएको छ भने सशस्त्र प्रहरी जवान ओमप्रकाश पुन मगरको शव परीक्षणका लागि महेन्द्रनगरस्थित प्रादेशिक अस्पताल पठाइने जनाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको सुरक्षा निकायले जनाएको छ।

प्रतिक्रिया