मलेसियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध


काठमाडौं- मलेसियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई लक्षित गर्दै सामाजिक सञ्जाल प्रयोगमा कडा प्रतिबन्ध लागू गरेको छ। सोमबारदेखि लागू भएको नयाँ कानुनअनुसार अब १६ वर्षमुनिका प्रयोगकर्ताले फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युबजस्ता प्रमुख सामाजिक सञ्जालमा व्यक्तिगत खाता खोल्न वा सञ्चालन गर्न पाउने छैनन्।

नयाँ नियमअनुसार सामाजिक सञ्जाल प्लेटफर्महरूले प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणित गर्नुपर्नेछ। साथै, १६ वर्षमुनिका बालबालिकाले खाता खोल्न नपाउने सुनिश्चितता गर्नुपर्ने तथा पहिले नै सञ्चालनमा रहेका अवैध खाताहरू पहिचान गरी हटाउनुपर्ने जिम्मेवारी सम्बन्धित कम्पनीहरूमाथि तोकिएको छ।

नियम उल्लंघन गरेमा सम्बन्धित कम्पनीलाई अधिकतम १ करोड मलेसियन रिंगिटसम्म जरिवाना हुने व्यवस्था गरिएको छ। मलेसिया सरकारले यो कदम बालबालिकालाई अनलाइन जोखिम, साइबर दुर्व्यवहार, मानसिक दबाब तथा अस्वस्थ सामाजिक सञ्जाल प्रयोगबाट जोगाउने उद्देश्यले ल्याइएको स्पष्ट पारेको छ।

सरकारका अनुसार पछिल्ला वर्षहरूमा डिजिटल माध्यममार्फत बालबालिकामाथि हुने जोखिम बढ्दै गएपछि यस्तो कडाइ आवश्यक भएको हो। यद्यपि, यदि बालबालिकाले विभिन्न उपाय अपनाएर उमेर छली खाता खोलेको अवस्थामा अभिभावकमाथि भने कानुनी कारबाही नहुने व्यवस्था गरिएको छ।

सरकारले मुख्य ध्यान सामाजिक सञ्जाल कम्पनीहरूको जिम्मेवारी र नियमनमा केन्द्रित गरेको जनाएको छ। मलेसियाको सञ्चार तथा बहुमाध्यम आयोगले यो नीति बालबालिकालाई इन्टरनेटबाट पूर्ण रूपमा टाढा राख्ने उद्देश्य नभई उनीहरूका लागि सुरक्षित, नियन्त्रित र उमेरअनुकूल डिजिटल वातावरण निर्माण गर्ने प्रयास भएको स्पष्ट पारेको छ।

यससँगै मलेसिया बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्ने देशहरूको सूचीमा थपिएको छ। यसअघि अष्ट्रेलिया, ब्राजिल र इन्डोनेसियाले यस्ता नियम लागू गरिसकेका छन् भने बेलायत, फ्रान्स, स्पेन, डेनमार्क, थाइल्यान्ड र दक्षिण कोरियालगायत देशहरूले पनि यस्तै नीति बनाउने प्रक्रिया अघि बढाइरहेका छन्।

प्रतिक्रिया