
‘जारी २’ अब ओटीटीमा
काठमाडौं – नेपाली फिल्म ‘जारी २’ अब ओटीटी प्लेटफर्ममार्फत हेर्न सकिने भएको छ। नेपाली ओटीटी प्लेटफर्म सिनेमाघरले फिल्मलाई आफ्नो डिजिटल सेवामा सार्वजनिक गरेको हो।
यससँगै नेपालसहित विश्वभर रहेका दर्शकले निर्देशक उपेन्द्र सुब्बाको यो फिल्म अनलाइनमार्फत हेर्न सक्नेछन्। प्रदर्शनका क्रममा फिल्मले बक्सअफिसमा उल्लेखनीय सफलता हासिल गरेको थियो।
लिम्बु समुदायमा कुनै समय प्रचलित रहेको ‘जारी’ प्रथाको कथामा आधारित यो फिल्म सुपरहिट चलचित्र ‘जारी’ को दोस्रो श्रृंखला हो। फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराललगायत कलाकारहरूको अभिनय रहेको छ।
सिनेमाघरका अनुसार दर्शकले सिनेमाघर एप गुगल प्ले स्टोर तथा एप्पलको आइओएस स्टोरबाट डाउनलोड गरेर स्मार्टफोन वा ट्याब्लेटमा फिल्म हेर्न सक्नेछन्।
त्यसैगरी एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी तथा एलजी वेबओएसजस्ता स्मार्ट टिभीमा पनि एप डाउनलोड गरी फिल्म हेर्न सकिने व्यवस्था गरिएको छ।
मोबाइलबाट क्रोमकास्ट प्रयोग गरेर वा कम्प्युटरमा वेब ब्राउजरमार्फत पनि ‘जारी २’ हेर्न सकिने सुविधा उपलब्ध रहेको प्लेटफर्मले जनाएको छ।
दर्शकलाई अझ उत्कृष्ट दृश्य अनुभव प्रदान गर्न सिनेमाघरले हालै आफ्नो प्लेटफर्ममा फोर–के (4K) स्ट्रिमिङ सेवा समेत सुरु गरिसकेको छ।



कागजपत्र |
