प्रहरी विद्यालयको २१ बिगाहा बढी जग्गा अतिक्रमण, संरचना हटाउन अल्टिमेटम


दाङ- दाङको घोराहीस्थित क्षेत्रीय प्रहरी आवासीय विद्यालयको नाममा रहेको ठूलो परिमाणको सरकारी जग्गा अतिक्रमणमा परेको भन्दै नेपाल प्रहरीले सार्वजनिक सूचना जारी गरेको छ। विद्यालयका समादेशक तथा प्रहरी निरीक्षक रामकुमार केसीले सूचना प्रकाशित गर्दै १५ दिनभित्र निर्माण गरिएका घर–टहरा तथा अन्य भौतिक संरचना हटाउन निर्देशन दिएका हुन्।

सूचनाअनुसार विद्यालयको नाममा रहेको साविक सोनपुर गाविस–५ (ख) तथा हाल लमही नगरपालिका–३ सोनपुरस्थित कित्ता नम्बर ४१४ को करिब २१ बिगाहा ९ कठ्ठा ७ धुर जग्गा अतिक्रमणमा परेको छ। उक्त क्षेत्रमा करिब ६० भन्दा बढी घर–टहरा निर्माण गरिएका छन् भने बाँकी जग्गा विभिन्न व्यक्तिले खेतीपातीका लागि प्रयोग गर्दै आएका छन्।

प्रहरीले निर्धारित समयभित्र अतिक्रमित संरचना नहटाइए बल प्रयोग गरेर हटाइने चेतावनीसमेत दिएको छ।

यसअघि इलाका प्रहरी कार्यालय तुलसीपुरले पनि आफ्नो स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका अनधिकृत संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको थियो।

उता जिल्ला प्रशासन कार्यालय दाङले समेत सरकारी जग्गा अतिक्रमण हटाउन सूचना जारी गरे पनि तोकिएको समयावधि सकिँदासमेत प्रभावकारी कार्यान्वयन हुन नसकेको बताइएको छ।

710059180_1439398404887269_7761459943470823959_n.jpg

प्रतिक्रिया