
कोलकातामा रहेको मेस्सीको ७० फिट अग्लो मूर्ति हटाइने
कोलकाता- भारतको पश्चिम बंगाल राज्यस्थित कोलकातामा निर्माण गरिएको अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सीको ७० फिट अग्लो मूर्ति सुरक्षा चिन्ताका कारण हटाइने भएको छ ।
मेस्सीले विश्वकप ट्रफी उचालेको दृश्य समेटिएको उक्त मूर्ति अर्जेन्टिनाले सन् २०२२ मा विश्वकप जितेको सम्झनामा निर्माण गरिएको थियो ।
गत वर्ष डिसेम्बरमा मेस्सी आफ्नो ‘गोट टुर’ अन्तर्गत लुइस स्वारेज र रोड्रिगो डी पाउलसँग भारत भ्रमणमा आएका बेला मूर्ति निर्माण गरिएको थियो ।
स्थानीय बासिन्दाले सोमबार मूर्ति हावामा हल्लिएको देखेपछि सार्वजनिक निर्माण विभागमा गुनासो गरेका थिए । त्यसपछि गरिएको निरीक्षणमा मूर्तिको संरचनात्मक अवस्था कमजोर रहेको निष्कर्ष निकालिएको अधिकारीहरूले बताएका छन् ।
पश्चिम बंगालका विधायक शरद्वत मुखर्जीले मूर्ति सुरक्षित नदेखिएको उल्लेख गर्दै हावामा हल्लिएको अवस्था भेटिएकाले हटाउने निर्णय गरिएको बताएका छन् ।
२७ दिन लगाएर निर्माण गरिएको उक्त मूर्ति फुटबल खेलाडीको सबैभन्दा अग्ला मूर्तिमध्ये एक मानिएको थियो । अहिले अधिकारीहरूले मूर्तिलाई पुनःस्थापना गर्न उपयुक्त वैकल्पिक स्थान खोजिरहेका छन् ।



कागजपत्र |
