पेस्तोल र गोलीसहित लागुऔषध कारोबारी पक्राउ


काठमाडौं- लागुऔषध कारोबारसँगै अवैध हतियारसमेत चलाउँदै आएको एक समूहलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाबाट पेस्तोल, गोली र ठूलो परिमाणमा ट्रामाडोल बरामद भएपछि घटनाले गम्भीर रूप लिएको छ।

लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले काठमाडौं बूढानीलकण्ठका कवीर देउला, सबिना पोडे, संसार सिटौला र ललितपुरको गोदावरीका सुवास शाहीलाई पक्राउ गरेको हो। उनीहरू लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न रहेको गोप्य सूचनाका आधारमा प्रहरी टोली सक्रिय भएको थियो।

एनसीबीका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णप्रसाद कोइरालाका अनुसार विशेष निगरानीपछि खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकामध्ये कवीर देउलाको साथबाट एक थान पेस्तोल, त्यसमा प्रयोग हुने तीन वटा म्याग्जिन र ६ राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ।

यससँगै प्रहरीले उनीहरूको साथबाट १६ हजार ७ सय ५० वटा ट्रामाडोल ट्याबलेट पनि बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानले उक्त समूह काठमाडौं उपत्यका आसपास लामो समयदेखि ट्रामाडोलको अवैध कारोबारमा सक्रिय रहेको देखाएको एसएसपी कोइरालाले बताए।

बरामद गरिएको पेस्तोल अन्य आपराधिक घटनामा प्रयोग भएको हुनसक्ने आशंकामा त्यसतर्फ पनि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया