सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ


काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभर्नमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर सरकारी ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कल्पवृक्ष बिल्डर्स प्रालिका सञ्चालक प्रकाश ढुङ्गाना र इन्कोन प्रालिका शेयरधनी तथा लेखापाल स्वदेश पोखरेललाई पक्राउ गरेको हो। ढुङ्गानालाई काठमाडौं महानगरपालिका–१६ बालाजुबाट र पोखरेललाई वडा नं. ३२ पेप्सीकोलाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार ठेक्काको आर्थिक प्रस्ताव खोलिनुअघि नै सम्बन्धित ‘डकुमेन्ट’मा हेरफेर गरिएको देखिएको छ। उक्त कार्यमा संलग्न रहेको आशंकामा दुवै जनाविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार घटनामा संगठित अपराधको कोणबाट पनि अनुसन्धान अघि बढाइएको छ।

यसअघि सोही प्रकरणमा कालिका कन्ट्रक्सनका सञ्चालक तथा राप्रपा नेता विक्रम पाण्डे र भिषण कन्ट्रक्सनका टंकुमार श्रेष्ठलाई पनि पक्राउ गरिएको थियो। हालसम्म यस प्रकरणमा नौ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया