एलओडीमा अमेरिकन बोर्डरलाइनको विशेष प्रस्तुति


काठमाडौं-  ठमेलस्थित एलओडी क्लबमा ‘अमेरिकन बोर्डरलाइन’ समूहले विशेष सांगीतिक तथा नृत्य प्रस्तुति दिएको छ। शनिबार राति करिब दुई घण्टा चलेको कार्यक्रममा १६ जना कलाकारले विभिन्न रोचक र आकर्षक प्रस्तुति दिएका थिए।

कार्यक्रममा ‘रोबोटिक डान्स’, ‘बेलुन डान्स’ र ‘प्लेन डान्स’ जस्ता फरक शैलीका नृत्य प्रस्तुत गरिएका थिए, जसले दर्शकलाई नयाँ अनुभव दिलाएको आयोजकको भनाइ छ।

दर्शकहरूले यस कार्यक्रमलाई नेपालमै पहिलो पटक देखिएको फरक शैलीको इभेन्टका रूपमा मूल्यांकन गरेका छन्। सहभागी दर्शक राघव शाक्यले यस्तो स्तरको प्रस्तुति नेपालमा पहिलो पटक अनुभव गर्न पाएको भन्दै प्रशंसा गरे। उनका अनुसार यस्ता अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमले काठमाडौंको नाइटलाइफ संस्कृतिलाई थप उचाइमा पुर्‍याउनेछ।

एलओडी क्लबका निर्देशक भुपेन कुँवरका अनुसार क्लबले यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारलाई आमन्त्रण गर्दै कार्यक्रम आयोजना गर्दै आएको भए पनि यस्तो अवधारणाको प्रस्तुति पहिलो पटक गरिएको हो। उनले यो कार्यक्रमले नेपाललाई क्लबिङ र मनोरञ्जन पर्यटनको सम्भावित हबका रूपमा स्थापित गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे।

एलओडी क्लब विश्वका उत्कृष्ट क्लबहरूको सूचीमा निरन्तर सुधार गर्दै अगाडि बढिरहेको छ। सन् २०२२ मा ५२औँ स्थानमा रहेको क्लब २०२३ मा ४९औँ, २०२४ मा ५०औँ र २०२५ मा ४४औँ स्थानमा पुगेको थियो भने हाल ४०औँ स्थानमा उक्लिएको छ।

आयोजकका अनुसार अमेरिकन बोर्डरलाइनको यो प्रस्तुति केवल मनोरञ्जन मात्र नभई काठमाडौंको नाइटलाइफ संस्कृतिमा नयाँ मापदण्ड स्थापित गर्ने प्रयासका रूपमा पनि हेरिएको छ। यस्ता कार्यक्रमहरूले नेपालमा पर्यटक आगमन बढाउने र समग्र पर्यटन उद्योगमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया