
पोखरामा छोरी हुर्काइरहेकी एकल आमाको हत्या, अभियुक्त फरार
पोखरा- बुधबार साँझ पोखराको सभागृह चोकमा ४२ वर्षीया सिर्जना पौडेल क्षेत्रीको हत्या भएकाे छ। एकल जीवन बिताउँदै तीन वर्षीया छोरी हुर्काइरहेकी सिर्जनामाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार अज्ञात व्यक्तिले उनलाई पछाडिबाट टाउकोमा प्रहार गरेपछि उनी लडेकी थिइन्। त्यसपछि आक्रमणकारी शिवालय चोकतर्फ भागेको देखिएको छ। सीसीटीभी फुटेजको अध्ययनका आधारमा अभियुक्त स्कुटीमा भागेको अनुमान गरिएको छ ।
पोखरा महानगरपालिका–५ जीरोकिलोका मासु व्यवसायीसँग विवाह गरेकी सिर्जना पारिवारिक विवादका कारण फेवाताल किनारको सेदी क्षेत्रमा बस्दै आएकी थिइन्। उनकाे विवाह कृष्णसँग भएकाे थियाे। तर, विवाह भएको केही वर्षमै पतिकाे निधन भएको थियो।
पहिलो पत्नीको निधनपछि तनहुँकी सिर्जनासँग दोस्रो विवाह गरेका कृष्णको मृत्यु छोरी जन्मिएको वर्षमै भएको थियो। त्यसपछि सिर्जना तीन वर्षीया छोरीसहित एक्लै बस्दै आएकी थिइन्। पारिवारिक सम्बन्ध सन्तोषजनक नभएपछि कृष्णले सेदीमा छुट्टै घर बनाइदिएका थिए।
प्रहरीका अनुसार घटना हुने बेलामा सिर्जना घरायसी सामान किन्न बजार गएकी थिइन्। फर्कने क्रममा गाडी पर्खिरहेकै बेला उनीमाथि आक्रमण भएको हो। घटनास्थलमा कुनै झैँझगडा वा विवाद भएको संकेत नदेखिएको प्रहरीले जनाएको छ।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा सम्पत्ति विवादसमेत कारण हुनसक्ने आशंका गरेको छ। कृष्णले बनाएको घर र जग्गालाई लिएर परिवारभित्र विवाद हुँदै आएको स्रोतको दाबी छ।
जिल्ला प्रहरी कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले घटनामा संलग्न व्यक्तिको खोजी तीव्र पारिएको जानकारी दिँदै पक्राउ नहुँदासम्म यकिन कारण भन्न नसकिने बताएका छन्।



कागजपत्र |
