
मोबाइल नम्बर फेरेर बैंक खाताबाट १ करोड ६५ लाख हिनामिना, कर्मचारी पक्राउ
कपिलवस्तु- तौलिहवास्थित नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा कार्यरत एक कर्मचारीले ग्राहकको खाताबाट करोडौँ रकम हिनामिना गरेको घटना सार्वजनिक भएको छ। बैंकका मेसेन्जरका रूपमा कार्यरत २८ वर्षीय ऋषभ कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार कार्कीले बैंकिङ प्रणालीमा अनधिकृत पहुँच बनाई विभिन्न ग्राहकका मोबाइल नम्बर परिवर्तन गरेर आफ्नै प्रयोगको नम्बर राखेका थिए। त्यसपछि मोबाइल बैंकिङमार्फत हुने कारोबारको सूचना आफैंलाई आउने व्यवस्था मिलाई उनले रकम स्थानान्तरण गर्दै आएका थिए।
यसरी उनले १ करोड ६५ लाख रुपैयाँ आफ्नै खातामा ट्रान्सफर गरी हिनामिना गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनले मोबाइल बैंकिङ र कनेक्ट आईपीएस प्रयोग गरेर रकम सार्ने गरेको प्रहरीले जनाएको छ।
कपिलवस्तु नगरपालिका–३ अदालतटोल निवासी कार्कीलाई इलाका प्रहरी कार्यालय पकडीको टोलीले मायादेवी गाउँपालिका–१ बाट पक्राउ गरेको हो। अनुसन्धानका क्रममा उनले १६ जना ग्राहकको खाताबाट रकम सारिएको पाइएको छ। प्रहरी स्रोतका अनुसार उनले पछिल्ला दुई वर्षदेखि यस्तो गतिविधि गर्दै आएको बयान दिएका छन्।
बैंकमा लामो समयदेखि कार्यरत कार्कीले सहकर्मीहरूको विश्वास जित्दै आएका थिए। सोही विश्वासको फाइदा उठाउँदै उनले दुई कर्मचारीको आईडी र पासवर्ड प्रयोग गरी प्रणालीमा प्रवेश गरेर रकम हिनामिना गरेको आरोप छ।
घटनाबारे बैंकको केन्द्रीय कार्यालयले अनियमितता पत्ता लगाएपछि प्रहरीलाई जानकारी गराइएको थियो। एउटै मोबाइल नम्बर १६ वटा खातामा जोडिएको देखिएपछि शंका उत्पन्न भएको थियो।
घटनाको अनुसन्धानका क्रममा कार्कीले आफू मात्र संलग्न रहेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले जानकारी दिए।
घटनापछि बैंकले संलग्नता आशंकामा दुई कर्मचारीलाई निलम्बन गरेको छ भने शाखा प्रमुखसँग स्पष्टीकरण मागिएको जनाएको छ।



कागजपत्र |
