८४ मत ल्याएकी अभिनेत्री निशाले दिइन् काठमाडौं क्षेत्र नं. ५ का मतदातालाई धन्यवाद


काठमाडौं – गतिशील लोकतान्त्रिक पार्टीकी महिला विभाग प्रमुख एवं अभिनेत्री निशा अधिकारीले काठमाडौं–५ का मतदाताहरुलाई धन्यवाद दिएकी छिन् ।

गतिशील लोकतान्त्रिक पार्टीबाट चुनावमा होमिएकी निशाले निर्वाचनको परिणाम सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमार्फत् सम्पूर्ण मतदातालाई धन्यवाद दिएकी हुन् ।

उनले उम्मेदवारी दिएको काठमाडौं क्षेत्रन ं. ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेल विजयी भएका छन् । निशाले उक्त क्षेत्रबाट ८४ मत प्राप्त गरेकी छिन् ।

उनले लेखेकी छिन्,

काठमाडौँ५ का सम्पूर्ण मतदाताहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।

लोकतन्त्रमा चुनाव केवल जितहारको प्रतिस्पर्धा मात्र होइन, विचार, एजेण्डा र विश्वासको अभ्यास पनि हो। यस चुनावमा मलाई साथ दिनुहुने, प्रोत्साहन गर्नुहुने, सुझाव दिनुहुने र आलोचना गरेर अझ राम्रो बनाउन खोज्नुहुने सबैलाई म हृदयदेखि धन्यवाद दिन्छु।

काठमाडौँ५ बाट निर्वाचित हुनुभएका सस्मित पोखरेलज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। जनताले दिनुभएको जिम्मेवारी उहाँले काठमाडौँ५ र देशको हितमा प्रयोग गर्नुहुनेछ भन्ने आशा राख्छु।

चुनावको नतिजा जे भए पनि, मेरो प्रतिबद्धता परिवर्तन भएको छैन। हाम्रो घरदैलो संवाद जारी रहनेछ। नागरिकसँग प्रत्यक्ष संवाद गर्दै, नीति र एजेण्डामा आधारित राजनीति निर्माण गर्ने हाम्रो प्रयास जारी रहनेछ।

आज स्पष्ट देखिएको कुरा के हो भने प्रतिनिधि सभाभित्र बलियो प्रतिपक्ष कमजोर हुने सम्भावना छ। यस्तो अवस्थामा नागरिकको आवाजलाई जोगाउने सडकबाट बलियो लोकतान्त्रिक प्रतिपक्षको भूमिका अझ महत्वपूर्ण हुन्छ। त्यो जिम्मेवारी हामीले निरन्तर निभाउनेछौँ।

यस चुनावको परिणामले महिलाहरूलाई नेतृत्वमा आउन निरुत्साहित गर्नु हुँदैन। बरु यसले हामीलाई अझ धेरै काम गर्नुपर्ने सन्देश दिएको छ। काठमाडौँ५ बाट एकदिन महिला प्रतिनिधि संसदमा पुग्ने सपना अझै जीवित छ। त्यो सपना पूरा गर्न म आफ्नो क्षमताअनुसार निरन्तर प्रयास गर्नेछु र अझ धेरै महिलालाई मुख्यधाराको राजनीतिमा अघि ल्याउन काम गर्नेछु।

राजनीति मेरो लागि पदको यात्रा होइन, सेवा, मूल्यमान्यता र जिम्मेवारीको यात्रा हो।

यो यात्रा यहाँ समाप्त भएको छैन। यो त केवल अर्को अध्यायको सुरुवात हो।

काठमाडौँ५ का सबै मतदाताहरूप्रति पुनः धन्यवाद।

नीशा अधिकारी

संघिय समिति सदस्य तथा

महिला विभाग प्रमुख

गतिशील लोकतान्त्रिक पार्टी

प्रतिक्रिया