हालसम्म चुनावमा खटिएका १२ जना सुरक्षाकर्मी र दुई मतदान अधिकृतको मृत्यु


काठमाडौं-  प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा र व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी तथा कर्मचारीहरूको ज्यान गएको घटना क्रम जारी रहेको छ । निर्वाचनको क्रममा विभिन्न जिल्लामा खटिएका ११ जना निर्वाचन प्रहरी, एक जना प्रहरी सहायक निरीक्षक (असई) र एक जना मतदान अधिकृतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सर्लाहीको पर्सा गाउँपालिका–४, जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएका ४२ वर्षीय रघुनाथ महतो मङ्गलबार अचानक बेहोस भएपछि उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको थियो । रौतहटको माधव नारायण नगरपालिका–६ घर भएका सिनियर अहेब महतोको उपचारकै क्रममा मृत्यु भयो । उनी सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत थिए । उनको शवको पोस्टमार्टम भइसकेको छ भने मृत्युको कारण खुल्न सकेको छैन ।

कञ्चनपुरमा फागुन १८ गते राति खाना पकाउने क्रममा अचेत भएका ३५ वर्षीय निर्वाचन प्रहरी मानसिंह रानाको पनि मृत्यु भएको छ । पुनर्वास नगरपालिका–९, सीता बस्तीस्थित जीवनशक्ति आधारभूत मतदानस्थलमा खटिएका रानाको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनी उच्च रक्तचाप र मधुमेहका बिरामी थिए ।

बैतडीमा एक महिनाको अवधिमा तीन जना निर्वाचन प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३८ वर्षीय राजेन्द्र प्रसाद भट्ट, ३८ वर्षीय महादेव वड र ३२ वर्षीय प्रकाश चन्द रहेका छन् । दशरथचन्द नगरपालिका–३ घर भएका चन्दको निर्वाचन सुरक्षाको ड्युटी सकेर फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको हो । अन्य दुई जना अचेत भएर ढलेपछि उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेले जानकारी दिए ।

प्रहरीका अनुसार प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिएका ११ जना निर्वाचन प्रहरी र दुर्घटनामा परेर एक जना असईको ज्यान गएको छ । फागुन १८ गते रामेछापको रामेछाप नगरपालिका–२, सिरुवारीमा ना.७ ख ६७६८ नम्बरको निशान गाडी दुर्घटना हुँदा असई पर्शुराम यादवको मृत्यु भएको थियो । उनको शव पोस्टमार्टमपछि गृहजिल्ला सप्तरीको रुपनी गाउँपालिका–१ पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

यसैगरी, करिब ४० दिनका लागि सरकारी सेवा गर्न भर्ना भएका ११ जना निर्वाचन प्रहरीले निर्वाचन सुरक्षाकै क्रममा ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार रुपन्देहीमा १, बारामा २, महोत्तरीमा १ र नवलपरासीमा १ जना निर्वाचन प्रहरीको मृत्यु भएको छ ।

फागुन १८ गते मकवानपुरमा गाडीको ठक्करबाट २४ वर्षीय पवन कुमार शाहको मृत्यु भयो । रौतहट घर भएका शाह निर्वाचन प्रहरी हुन् र उनी इलाका प्रहरी कार्यालय पशुपतिनगरमा खटिएका थिए ।

त्यसैगरी, रामेछापमा गाडी दुर्घटना हुँदा मतदान गराउन जाँदै गरेका ५७ वर्षीय मतदान अधिकृत डोर प्रसाद घिमिरेको पनि ज्यान गएको छ । उनी मन्थलीबाट मतपत्र लिएर सितलदेवी माध्यमिक विद्यालय सिरुवारी तथा रामेछाप नगरपालिका–३ स्थित वडा कार्यालय भवनतर्फ जाँदै थिए । मन्थली नगरपालिका–१ भैंसेश्वर निवासी घिमिरेको शव पोस्टमार्टमपछि परिवारलाई बुझाइएको छ ।

प्रतिक्रिया