
मौन अवधि उल्लंघन गरेका टिकटकर रतन कार्कीलाई प्रहरीको चेतावनी
चितवन – मौन अवधिको उल्लंघन गर्दै सामाजिक सञ्जालमा राजनीतिक प्रकृतिका भिडियो पोस्ट गरेको आरोपमा टिकटकर रतन कार्कीलाई चितवन प्रहरीले भिडियो हटाउन लगाएर घर पठाएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधिमा भ्यूज बटुल्ने उद्देश्यले चितवनका विभिन्न उम्मेदवारसम्बन्धी भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट गरेपछि कार्की प्रहरीको निगरानीमा परेका थिए। सोही विषयमा सोधपुछका लागि उनलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको थियो।
चितवन प्रहरीका सूचना अधिकारी रविन्द्र खनालका अनुसार, मौन अवधिमा पोस्ट गरिएका सबै भिडियो तथा अन्य राजनीतिक प्रचार सामग्री सामाजिक सञ्जालबाट हटाउन लगाइएपछि कार्कीलाई आवश्यक सचेतना दिई घर पठाइएको हो।
प्रहरीले मौन अवधिमा कुनै पनि प्रकारको राजनीतिक प्रचार–प्रसार नगर्न पुनः चेतावनी दिँदै सामाजिक सञ्जाल प्रयोगमा जिम्मेवार बन्न आग्रह गरेको छ।



कागजपत्र |
