विदेश पठाउने नाममा ६८ लाख ठगी, ह्यापी एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ


काठमाडौं-  विदेश पठाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले ह्यापी एजुकेसन कन्सल्टेन्सीका सञ्चालक बद्री सिलवाललाई पक्राउ गरेको छ।

काठमाडौँ महानगरपालिका–१० मा रहेको उक्त कन्सल्टेन्सीका सञ्चालक चितवनको राप्ती नगरपालिका घर भएका ३२ वर्षीय सिलवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सिलवालले अध्ययन भिसामा विदेश पठाउँछु भन्दै विभिन्न व्यक्तिबाट कुल ६८ लाख रुपैयाँ ठगी गरेको खुलेको छ। उनले ‘पोर्चुगल पठाउने प्रक्रिया गर्दैछु’ भन्दै एक पीडितबाट मात्रै २१ लाख ७० हजार रुपैयाँ जम्मा गराएपछि कन्सल्टेन्सी बन्द गरेर फरार भएका थिए।

एसपी भट्टराईका अनुसार सिलवाललाई प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले माघ २० गते पक्राउ गरेको हो। हाल उनीमाथि थप अनुसन्धान भइरहेको छ।

अनुसन्धानका क्रममा कन्सल्टेन्सी बन्द गरेपछि सिलवालले परिचय बदलेर ‘केदार सिलवाल’ नाम प्रयोग गरी थप व्यक्तिहरूलाई विदेश पठाइदिने आश्वासन दिँदै रकम असुलेको तथ्यसमेत खुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया