
काठमाडौंमा ४ जना पाकेटमार पक्राउ
काठमाडौं- नगद तथा सुनको सिक्री चाेरेकाे अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भद्रकालीका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिएका छन्।
पक्राउ पर्नेमा काठमाडौं दक्षिणकाली नगरपालिका–२ का ३७ वर्षीय सरोज खड्का, काभ्रेको महाभारत गाउँपालिका–७ घर भई हाल काठमाडौं काँडाघारी बस्ने ४२ वर्षीय विकास लामा, तनहुँ म्याग्दे गाउँपालिका–५ घर भई हाल काठमाडौं टोखा बस्ने ३३ वर्षीय राजु गुरुङ र ललितपुर महानगरपालिका–७ का ३३ वर्षीय सुवास मगर रहेका छन्।
प्रहरी उपरीक्षक भट्टराईका अनुसार पुस २३ गते अन्दाजी ११ बजे काठमाडौंको सिनामंगलस्थित गोल्डेनगेट अगाडिबाट बस चढी मित्रपार्कतर्फ जाने क्रममा एक युवकको साथमा रहेको नगद दुई लाख ७५ हजार रुपैयाँ हराएको भनी सूचना प्राप्त भएको थियो। त्यसैगरी पुस २४ गते बसमा यात्रा गर्ने क्रममा सिनामंगलबाट एक महिलाको सुनको सिक्री हराएको भन्ने अर्को सूचना प्रहरीमा आएको थियो।
प्राप्त सूचनाका आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा काठमाडौं महानगरपालिका–८, तिलगंगा क्षेत्रबाट उक्त घटनामा संलग्न रहेको अभियोगमा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेकामाथि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए।



कागजपत्र |
