
प्रधानमन्त्री सुशीला कार्की र ओलीबीच लामो छलफल
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच करिब चार घण्टा लामो छलफल भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दिउँसो दुई नेताबीच भेटवार्ता तथा विस्तृत छलफल भएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलले पुष्टि गरेका छन्।
रावलका अनुसार प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच दिउँसो ११ बजेदेखि साढे २ बजेसम्म छलफल भएको हो। भेटवार्तामा मुख्य रूपमा फागुन २१ गते हुने निर्वाचन केन्द्रित विषयमा छलफल भएको बताइएको छ।
निर्वाचन केन्द्रित छलफलका लागि बालुवाटार पुगेका अध्यक्ष ओलीले सो क्रममा प्रधानमन्त्री कार्कीका पति दुर्गा सुवेदीको स्वास्थ्य अवस्थाबारे समेत चासो व्यक्त गरेका थिए। यसका साथै उनले समग्र निर्वाचनको तयारी, वर्तमान अवस्था तथा सुरक्षाको व्यवस्थाबारे जानकारी लिएका थिए।
जवाफमा प्रधानमन्त्री कार्कीले सरकारले निर्वाचनका लागि आवश्यक सबै प्रबन्ध मिलाइसकेको बताउँदै ढुक्क हुन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटका क्रममा प्रधानमन्त्री कार्कीले एमाले निर्वाचन केन्द्रित गतिविधिमा सक्रिय रूपमा सहभागी भएकोप्रति खुसी व्यक्त गर्दै, बदलिएको राजनीतिक परिस्थितिमा समेत पार्टी महाधिवेशन सम्पन्न गरी चुनौतीपूर्ण अवस्थामा राजनीतिक गतिविधि अघि बढाएकोमा धन्यवाद व्यक्त गरेकी थिइन्।
कार्कीसँगको संवादका क्रममा अध्यक्ष ओलीले निर्वाचनको वातावरण बनेमा एमाले चुनावबाट नभाग्ने स्पष्ट विश्वास दिलाएको स्रोतले जनाएको छ।



कागजपत्र |
