पेटभित्र कोकिन लुकाएर नेपाल आइन् थाइ महिला, ४१ क्याप्सुल बरामद


काठमाडौं-  नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पेटभित्र कोकिन लुकाएर नेपाल भित्र्याउने एक थाइ नागरिकलाई पक्राउ गरेको छ।

लाओसबाट बैंकक हुँदै काठमाडौं आएकी ती महिलाको पेटबाट प्रहरीले २९ वटा कोकिनका क्याप्सुल निकालेको हो। पक्राउ पर्नेमा थाइल्याण्डकी नागरिक ४४ वर्षीया रुसानी कामा रहेकी छन्।

लागूऔषध नियन्त्रण ब्युरोका प्रहरी नायव उपरीक्षक जीवन निरौलाका अनुसार कामा थाइ लायन एयरको उडानमार्फत काठमाडौं आएकी थिइन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा नियमित जाँचका क्रममा उनको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रारम्भिक खानतलासीका क्रममा उनको साथमा रहेको झोलाभित्र फल्स बटम बनाएर लुकाइएको अवस्थामा खैरो रङको टेपले बेरिएका १२ वटा क्याप्सुल फेला परेका थिए।

झोलाबाट कोकिन बरामद भएपछि प्रहरीले पेटभित्र पनि लागूऔषध निलेर ल्याएको हुनसक्ने आशंका गरेको थियो। सोही आधारमा उनलाई तत्काल नेपाल प्रहरी अस्पताल, महाराजगन्ज लगिएको थियो।

अस्पतालमा गरिएको सिटी स्क्यानका क्रममा उनको पेटभित्र शंकास्पद वस्तु देखिएको थियो। त्यसपछि चिकित्सकको निगरानीमा उनको पेटबाट थप २९ वटा कोकिनका क्याप्सुल निकालिएको ब्युरोले जनाएको छ।

प्रहरीले उनको साथबाट बरामद गरिएको १२ वटा र पेटबाट निकालिएको २९ वटा गरी जम्मा ४१ वटा क्याप्सुल बरामद गरेको छ। बरामद गरिएको कोकिनको कुल तौल ५५० ग्राम रहेको प्रहरीले पुष्टि गरेको छ।

पक्राउ परेकी थाइ नागरिकमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

प्रतिक्रिया