पर्वतको कारागार कार्यालय प्रमुखसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्वतको कुश्मास्थित कारागार कार्यालयका प्रमुख तथा बोलपत्र मूल्यांकन समितिका अध्यक्ष शिला श्रेष्ठसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

कारागारको भान्साघर निर्माणका क्रममा अनियमितता भएको ठहर गर्दै अख्तियारले उनीहरूविरुद्ध २१ लाख ५५ हजार ७३५ रुपैयाँ बिगो मागदाबी गर्दै बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

मुद्दा दायर हुने अन्य प्रतिवादीमा सघन सहरी तथा भवन निर्माण आयोजना, बागलुङका इन्जिनियर विकास अधिकारी, कारागार कार्यालय कुश्माका नायब सुब्बा हरिकृष्ण शर्मा, कोष तथा लेखा नियन्त्रण कार्यालय पर्वतका सह–लेखापाल सुभास घर्ती तथा मोदी–६ पर्वतस्थित मोदीकाली कन्स्ट्रक्सनका प्रोप्राइटर प्रदीप तिमिल्सिना रहेका छन्।

अख्तियारका अनुसार कारागार कार्यालयका प्रमुख, इन्जिनियर र निर्माण व्यवसायीबीच मिलेमतो गरी भान्साघर निर्माणका लागि निकासा भएको रकममा अनियमितता गरिएको उजुरी परेपछि अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानका क्रममा २१ लाख ५५ हजार ७३५ रुपैयाँ बराबरको भ्रष्टाचार भएको पुष्टि भएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया