अमेरिका पुगेका धुर्मुस–सुन्तलीको स्पष्टीकरण – भागेर आएका होइनौँ


काठमाडौं-  हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले आफूहरू अमेरिका भागेर आएको भन्ने समाचारहरूको प्रबल रूपमा खण्डन गरेका छन्। शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा ‘बकपत्र’ शीर्षकमा लामो स्टाटस लेख्दै उनले केही मिडियामा आएका दाबीहरू निराधार भएको बताएका हुन्।

धुर्मुसका अनुसार दुई वर्षअगाडि नै उनीहरूले ‘एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड’ प्राप्त गरेका थिए, जुन असाधारण क्षमता भएका व्यक्तिलाई प्रदान गरिने स्थायी बसोबास अनुमति हो। अहिले भने उनीहरू छोरीको खुट्टाको उपचारका लागि अमेरिका आएका हुन्। धुर्मुस लेख्छन्- “नेपालमा कलाकारिता गर्न सकिने अवस्था रहेन, बाँचेको आधार पनि हरायो। यस्तो पीडादायी अवस्थामा ‘मरता क्या नहीं करता’ भन्दै तीन वर्षअघि नै हामीले नेपालबाटै एक्स्ट्रा अर्डिनरी ग्रिनकार्डका लागि आवेदन दिएका थियौं।”

उनका अनुसार ग्रिनकार्ड प्राप्त भएपछि कम आम्दानी हुने परिवारका बच्चाले अमेरिकामा ‘इन्सुरेन्स/मेडिकेड’ मार्फत निःशुल्क उपचार सुविधा पाउने रहेछ। यसअघि पत्नी कुञ्जना घिमिरे ‘सुन्तली’ गर्भवती हुँदा ‘स्ट्रेस’ कारण दोस्रो बच्चा गुमाउनु परेको अनुभव सुनाउँदै उनले लेखे- “एक मात्र सन्तानका हकमा हामी कुनै जोखिम लिन चाहेनौँ। त्यसैले छोरीको सुरक्षित स्वास्थ्यका लागि अमेरिकामा आवेदन गर्ने निर्णय गरेका हौँ।”

उनीहरूलाई भिसा आवेदन गरेको दुई वर्षपछि पोहोर वर्ष मात्र प्राप्त भयो। भिसा हातमा परे पनि उनीहरू खुशी हुन सकेनन्। धुर्मुस भन्छन्- “यो हाम्रो चाहना थिएन। परिस्थितिले हामीलाई दास बनायो। हामी रोयौं। अमेरिका आउने–जाने सम्पूर्ण खर्च जुटाउन कुञ्जनाले लगाएका सबै गरगहना बेच्नुपर्यो।”

छोरीको ज्यान जोखिममा नपरोस् भनेर आफूहरू अहिले अमेरिकामा बस्न बाध्य भएको उल्लेख गर्दै उनले जनतासँग “हामी भागेका होइनौँ” भन्ने आग्रह गरे। “छोरीको उपचार सम्पन्न भएको केही समयमै हामी नेपाल फर्कनेछौँ। हाम्रो चाहना कलाकारितामा फर्किने र नेपालमै बाँच्न सकिने वातावरण बन्ने हो” उनले  लेखेका छन्।

धुर्मुसले चितवन रंगशाला निर्माणमा देखिएको उल्झनले उनीहरूलाई निकै भारी बनाएको उल्लेख गरे। “रंगशालाको उल्झन समाधान नभएसम्म न काम गर्न सक्ने, न चैनसँग सुतेर बाँच्न सकिने अवस्था रह्यो,” उनले लेखे। उनका अनुसार १८ करोड रुपैयाँभन्दा बढीको दायित्व, निरन्तर सरकारी झमेला र विभिन्न निकायको दबाबले उनीहरूको जीवन अस्तव्यस्त बनाएको छ।

अख्तियारबाट समेत क्लिन चिट पाएपछि पनि आफूलाई ‘ठग’ को संज्ञा दिइनु ठूलो विद्रोह भएको उनले बताए। वहीँ अर्कोतिर राज्यले संपत्ति मात्रै लिन खोज्ने तर दायित्व नलिने प्रवृत्तिलाई ‘विडम्बना’ भने।

धुर्मुसका अनुसार भरतपुर महानगरले जग्गा उपलब्ध गराएर परियोजनामा अगुवाइ गरेका थिए। सहमतिपत्रमै स्रोत जुटाउन नसके दायित्व दुवै पक्षको हुने उल्लेख भए पनि दायित्व हस्तान्तरणपछि एक महिनाभित्र गरिने भनिएको फरफारक प्रक्रिया आजसम्म पूरा हुन नसकेको उनीहरूको गुनासो छ।

काठमाडौँबाट पटक–पटक मन्त्रिपरिषद्ले निर्णय गरेर रकम दिने भनिए पनि प्रक्रियागत त्रुटि र सरकारी निकायको कार्यशैलीका कारण बजेट फ्रिज भई फिर्ता गएको उनले लेखे।

अमेरिकामा कहाँ छन् ?

स्रोतका अनुसार धुर्मुस–सुन्तली अहिले अमेरिकाको नर्थ क्यारोलिना राज्यमा बसिरहेका छन्। त्यहाँ उनीहरू आफ्नै नातेदारको घरमा बसेका हुन्। उनले पोस्टमा पत्नी कुञ्जना घिमिरे र छोरीको विमानस्थलमा खिचिएको फोटो पनि सार्वजनिक गरेका छन्।

कामका हिसाबले हेर्दा धुर्मुस अभिनीत चलचित्र ‘लाज शरणम्’ यसै वर्ष रिलिज भएको थियो। हाल उनी अर्को फिल्म ‘पाँच पाण्डव’ को तयारीमा छन्।

प्रतिक्रिया