उच्च पदस्थलाई धम्की दिने ‘एक्ट्रिमिस्ट’का नाइके काभ्रेका, अहिले कहाँ छन् ?


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित देशका उच्च पदस्थलाई लक्षित गरी हत्या धम्की दिने उग्रवादी समूह ‘एक्ट्रिमिस्ट ग्रुप अफ नेपाल’का संयोजक प्रकाश पाठक हालै निकै चर्चा र सुरक्षा चासोको केन्द्रमा छन्।

काभ्रेका प्रकाश पाठक प्रहरीको खोजी सूचीमा रहेका व्यक्ति हुन्।  अख्तियार र प्रहरी अनुसन्धान अनुसार, पाठक भारतमा बसेर पनि धम्की दिँदै आएको देखिन्छ। यससम्बन्धमा केही निकट सहयोगीहरू पक्राउ परे पनि प्रकाश पाठकको लोकेशन अझै पूर्ण रूपमा सार्वजनिक भएको छैन।

स्रोतका अनुसार, पाठक र उनका सहयोगीहरूले हतियार खरिद र विभिन्न व्यक्तिसँग चन्दा असुलीको कार्यमा संलग्न रहेको पाइएको छ। भाटभटेनीका व्यवसायी मिनबहादुर गुरुङ र अन्य व्यक्तिहरूसँग पनि यस गिरोहले चन्दा मागेको दाबी गरिएको छ।

अहिलेको अवस्थामा, प्रकाश पाठक कहाँ छन् र उनी कतिसम्म सक्रिय छन् भन्ने विषय प्रहरी र अनुसन्धान निकायहरूको लागि प्राथमिकता बनेको छ। प्रहरीले उनीलाई नियन्त्रणमा लिन व्यापक प्रयास जारी राखेको छ भने सुरक्षा सतर्कता उच्च बनाइएको छ। तर उनका केही सहयाेगीलाई भने प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।

यसअघि आयोग प्रमुख राईसहित १० जना विशिष्ट व्यक्तिलाई ज्यान सुरक्षा सम्बन्धी विशेष सतर्कता अपनाउनुपर्ने भन्दै प्रहरी प्रधान कार्यालयले मातहत निकायहरूलाई परिपत्र जारी गरेको थियो।

परिपत्रअनुसार, आयोगका प्रमुख आयुक्त प्रेम राई, पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्की, नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का, पूर्वगृहमन्त्री रमेश लेखक र बालकृष्ण खाणलाई ज्यान मार्ने धम्की आएको जानकारी प्रहरीलाई प्राप्त भएको थियो।

यस्तै, परिपत्रमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ, पूर्वआईजीपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द्र ठकुरी, तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई पनि विशेष सुरक्षा व्यवस्था मिलाउन निर्देश गरिएको थियो।

 

प्रतिक्रिया