
लमजुङमा पूर्वहवल्दार सीता कँडेल हत्या प्रकरणमा एकजना पक्राउ
लमजुङ- नेपाल प्रहरीकी पूर्वहवल्दार सीता कँडेलको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आपराधिक पृष्ठभूमि भएका बुद्धिराम दराईलाई नियन्त्रणमा लिएको हो।
सिआइबी प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार, पक्राउ पर्ने दराई चितवनको रत्ननगर बस्ने ४७ वर्षीय व्यक्ति हुन्। उनलाई बिहीबार रूपन्देहीको सिद्धार्थनगर-१ बेलहियाबाट पक्राउ गरी लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ।
४५ वर्षकी सीता कँडेलको शव २०८१ चैत ३१ गते दिउँसो साढे ३ बजे आफ्नै घरमा फेला परेको थियो। उनी लमजुङको बेसीशहर नगरपालिका-२ भकुण्डेस्थित घरमा बस्दै आएकी थिइन्। घरमा ताल्चा लगाइएको र गन्ध आउँदा स्थानीयले प्रहरी बोलाएर खोल्दा शव भेटिएको थियो।
सिआइबीको टोलीले घटनास्थलमा प्राविधिक तथा स्थलगत अनुसन्धान अघि बढाएको थियो। अनुसन्धान क्रममा ४७ वर्षीय बुद्धिराम दराईको संलग्नता पुष्टि भएको थियो।
दराई पहिल्यै कर्तव्य ज्यानको मुद्दामा जेल सजाय भुक्तान गरिसकेका व्यक्ति हुन्। उनले २०६७ मंसिर १३ गते गोरखामा ५३ वर्षकी चिनीमाया पाण्डेको हत्या गरेका थिए। विवादमा उनी चिनीमायाकी छोरी मेनुकासँग विवाह गर्न चाहन्थे। गोरखा जिल्ला अदालतले २०६८ असार २० मा जन्मकैद फैसला सुनाएको थियो।
सजाय भुक्तानको क्रममा दराई भिमफेदी कारागारमा थिए, जहाँ उनको पूर्वहवल्दार सीता कँडेलसँग चिनजान भएको थियो। केही समय पछि कारागारबाट रिहा भएपछि उनी सीतासँगको लेनदेन र अन्य विवादका कारण हत्या गरेको बताइएको छ।



कागजपत्र |
